पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करबाट अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही
नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय रूपन्देहीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने तीन ट्याङ्करबाट अनधिकृत रूपमा डिजेल झिकेको घटनामा कारबाही गरेको छ ।
निगमका अनुसार अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालयबाट भलवारी डिपोका लागि २० हजार लिटरका दरले डिजेल ढुवानी गरी आएका तीन ट्याङ्करबाट डिजेल झिकिएको थियो ।
निगमका अनुसार, लु१ख ६५०४, लु२ख १५४४ र लु१ख ६६१९ नम्बरका ट्याङ्करबाट सिद्धार्थनगर नगरपालिका–भैरहवास्थित सराफ आयल स्टोर्सको परिसरमा डिजेल झिकिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
निगमका अनुसार लु१ख ६५०४ र लु२ख १५४४ नम्बरका ट्याङ्करको यान्त्रिक सुरक्षा लकिङ प्रणाली बिगारी डिजेल झिकिरहेको अवस्थामा तथा लु१ख ६६१९ नम्बरको ट्याङ्करबाट डिजेल निकालेर भाग्ने क्रममा नियन्त्रणमा लिइएको थियो ।
स्थलगत जाँच गर्दा तीन वटा ट्याङ्करको लकिङ प्रणालीमा ज्याक लगाई म्यानहोल खोलिएको र ३० लिटर डिजेल नीलो ड्रममा राखिएको अवस्थामा फेला परेको थियो । ट्याङ्कर चालक, सहचालक र पम्प सञ्चालकविरुद्ध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।
यस्तै, सराफ आयल स्टोर्सलाई अनधिकृत रूपमा पेट्रोलियम पदार्थ खरिद तथा बिक्री वितरण गरेको अभियोगमा रु एक लाख जरिवाना तथा छ महिनासम्म पेट्रोलियम पदार्थ आपूर्ति बन्द गर्ने कारबाही गरिएको निगमका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शैलेन्द्र भुसालले जानकारी दिनुभयो ।
ट्याङ्कर चालक तथा सहचालकलाई निगमका कुनै पनि डिपो तथा कार्यालयमा आजीवन प्रवेश निषेध गर्नाका साथै निगमको करार सम्झौताअन्तर्गत सञ्चालनमा रहेका ट्याङ्कर चलाउन नपाउने गरी कारबाही गरिएको छ ।





प्रतिक्रिया राख्नुहोस्