राजनीति

अर्थमन्त्री डा. वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता

भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले तीनदिने औपचारिक भ्रमणका क्रममा बिहीबार बिहान नयाँदिल्ली पुग्नुभएको हो।

बिहीबार अपराह्न ५ बजे नयाँदिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता थियो।

भ्रमणको मुख्य उद्देश्य भदौ १० गतेको विनाशकारी बाढीपछि नेपालको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आर्थिक सहकार्य, साथै नेपाल–भारतबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नु रहेको अर्थ मन्त्रालयले जनाएको छ।

बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि पुनर्निर्माणका लागि आवश्यक स्रोत तथा सहकार्य जुटाउने प्रयासस्वरूप अर्थमन्त्रीको भारत भ्रमण भएको हो। यो विपद्पछि नेपालबाट भारतको पहिलो उच्चस्तरीय भ्रमणसमेत हो।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै, भारतीय उद्योग परिसङ्घ (सीआईआई)ले आयोजना गर्ने उद्योगी–व्यवसायीसम्बन्धी कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुने तथा दिल्ली स्कुल अफ इकोनोमिक्समा विकास अर्थशास्त्रसम्बन्धी कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस भ्रमणलाई नेपालले विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक आर्थिक सहकार्य विस्तार गर्नुका साथै भारतसँगको व्यापार, लगानी तथा अन्य आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने अवसरका रूपमा लिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.