हिम चितुवा आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्व शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । यसअघि सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले शेर्पा गुम्बा बौद्धमा राखिएको शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो ।
हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निवासमा निधन भएको थियो । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले स्व शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
स्व शेर्पाले बिनाअक्सिजन १० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । उहाँका तीन छोरा र एक छोरी हुनुहुन्छ । आङ्रिताका श्रीमतीको सात वर्षअघि निधन भएको थियो ।
सोलुखुम्बुको थामेमा जन्मनुभएका शेर्पाले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गर्नुभएको थियो । सन् १९९६ मा बिनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।
शेर्पाले सगरमाथा मात्रै नभई बिनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धवलागिरिलगायत दर्जनौँ हिमालको आरोहण गर्नुभएको थियो ।