विष्णु खत्रीको दशैँगीत ‘प्यारो गाउँघरमा’ सार्वजनिक (भिडियो)
लोकगायक विष्णु खत्रीले २०६४ सालयता बर्सेनि दशैँगीत सार्वजनिक गर्दै आउनुभएको छ । यसपालिको दशैँमा उहाँले ‘प्यारो गाउँघरमा’ गीत पाठक/स्रोतामाझ ल्याउनुभएको छ । यो खत्रीको अठारौँ दशैँगीत हो । ‘प्यारो गाउँघरमा’मा खत्री र देवी घर्तीमगरले स्वर दिनुभएको छ ।
खत्रीको शब्द र सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोमा कलाकार ओभी रायमाझी र सारिका केसीको अभिनय छ । खत्रीका अधिकांश दशैँगीतमा प्रवासी नेपालीका दुःख, वेदनालाई समेटिएको पाइन्छ । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा दशैँगीत सृजना गर्दै आएको खत्री बताउनुहुन्छ । उहाँका गीतले चाडबाड आएको छनक दिन्छन् ।
मार्मिक सृजना र ग्रामीण परिवेशको झझल्को खत्रीका गीतका विशेषता हुन् । गीतको म्युजिक भिडियो छायाँकनस्थलदेखि कलाकार छनोटसम्ममा त्यसको छनक पाइन्छ ।
गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन उहाँ पारङ्गत हुनुहुन्छ । आफ्ना हरेक सृजनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास गर्दै आएको खत्रीको भनाइ छ ।
“दशैँगीत मेरो साङ्गीतिक जीवनको पर्यायजस्तै बनेको छ, विगत १८ वर्षदेखि यसलाई निरन्तरता दिएको छु”, उहाँले भन्नुभयो । दुई दशकभन्दा बढी समयदेखि लोकसङ्गीतमा सक्रिय खत्रीले दशैं , तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आउनुभएको छ ।
अघिपछि पनि उहाँ समाजका विविध मुद्दालाई गीतमा उठान गरिरहनुहुन्छ । गत वर्षको दशैंमा खत्रीले ‘रित्तो भकारी’ गीत ल्याउनुभएको थियो । त्यसअघि उहाँका ‘दशैंतिहार गाउँमा’, ‘दशैंतिहारसँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दशैंमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए । प्रायः सबै गीतमा शब्द र सङ्गीत पनि गायक खत्रीकै रहेको छ ।
विसं २०६४ मा सार्वजनिक पहिलो दशैँगीत ‘सुनको जलप’मा खत्रीलाई गायिका बिमाकुमारी दुराले साथ दिनुभएको थियो । पछिल्ला गीतमा उहाँले विभिन्न गायिकाहरूसँग सहकार्य गर्दै आउनुभएको छ । अठार वर्षदेखि लगातार दशैं लक्षित गीत सार्वजनिक गर्नुभएका खत्री दशैँगीतका पर्यायका रूपमा चिनिन थाल्नुभएको छ ।
उहाँका गीतमा परदेशिएका नेपालीको भोगाइ र उनीहरूको मनोदशाको सजीव प्रस्तुति पाइन्छ । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका खत्रीका दशैँगीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि सास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत दर्जनौँ लोक तथा दोहोरी गीत चर्चित छन् ।
भिडियो –




प्रतिक्रिया राख्नुहोस्