पुनःनिर्माण कोषमार्फत राष्ट्रलाई योगदान दिन मन्त्री घिसिङको आव्हान
जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक पूर्वाधारको पुनःनिर्माणका लागि सरकारले ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ स्थापना गरी सो कोषमार्फत योगदान दिन आम नेपालीमा आव्हान गरेको छ ।
बिहिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाका पुनःनिर्माणको अभियानमा सबैलाई साथ दिन आह्वान गर्नुभएको हो ।
मन्त्री घिसिङले कोषमा सरकार, प्रदेश सरकार एवम् स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरु, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनःनिर्माणको अभियानमा सहभागी हुन अनुरोध गर्नुभएको हो ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले कोषमा योगदान रकम जम्मा गर्ने बैंक खाताको विवरणमा राष्ट्रिय वाणिज्य बैँकको खाता नं १९६०१००१०२०७०००४ रहेको र स्वीफ्ट कोड ‘आरबिबिएएनकेए’ रहेको पनि जानकारी दिनुभयो ।
यसका लागि सरकारले भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन गरेको र समितिले विश्व समुदायसमक्ष ‘कल फोर ग्लोबल सपोर्टः अर्जेन्ट अपिल फोर द रिस्टोरेशन एन्ड रिकन्सट्रक्सन अफ नेपालस् पब्लिक एसेट्स’ अनुरोधसहित सहयोगका लागि आह्वान गरेको छ ।
मन्त्री घिसिङले राष्ट्र पुनःनिर्माणको अभियानमा साथ दिन आह्वान गर्दे कोषमा सङ्कलित रकम पारदर्शी रूपमा खर्च गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।




प्रतिक्रिया राख्नुहोस्