एनआरएनए ‘उच्चस्तरीय मेलमिलाप समिति’मा चार सदस्य थप
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एकता महाधिवेशनबाट बाहिर रहेकाहरुलाई समेट्न गठन गरेको उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिलाई पूर्णता दिइएको छ ।
गत मे ३–४ मा काठमाडौँमा भएको एकताको महाधिवेशनको हलबाटै बाहिर रहेकाहरूलाई समेत समेट्ने उद्देश्यले राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समिति बनाइएको थियो । उक्त समितिमा चारजना सदस्य थप गरिएको हो ।
समितिको सदस्यमा जानकी गुरुङ (बेल्जियम), सुनील साह (अमेरिका), नारायण आचार्य (द नेदरल्याण्ड्स) र शनि ओली (कतार) रहनुभएको छ ।
शर्मा नेतृत्वको समितिले एकताको महाधिवेशनका बेला बाहिर रहेका एनआरएन अभियन्ताहरूलाई वार्ता र संवाद मार्फत एकीकृत गर्ने लक्ष्य लिएको छ ।
समितिका संयोजक शर्माले एनआरएनएको बृहत् एकताको लागि छुटेका साथीहरूलाई पनि समेटेर संस्थालाई थप बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।
शर्माले जेन जी आन्दोलनमा जनधनको ठूलो क्षति भएको अवस्थामा विदेशमा भएका सम्पूर्ण नेपालीहरूले कोभिडको बेला जस्तै सहयोग गर्नु पर्ने अवस्था रहेको पनि उनले उल्लेख गर्नुभयो ।
राष्ट्रिय पुनर्निर्माण लगायतका कुराहरूमा सहकार्य गर्नको लागि सबै समूह एक ठाउँमा आउनु पर्नेमा जोड दिंदै विगतका तीता कुराहरूलाई बिर्सिएर एनआरएनमा नयाँ सुरुआत गर्न पनि छलफल र वार्ताकै माध्यमबाट टुङ्गोमा पुग्नु पर्ने आवश्यकता औंल्याउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्