राजनीति

नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेमा जोड, विपद्मा चीनको सहयोगप्रति सभामुखको आभार

सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल–चीनबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ।

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा उहाँले दुई देशबीचको राजनीतिक, संसदीय तथा विकास सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो।

सभामुख अर्यालको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल र महासभामा सहभागी चिनियाँ प्रतिनिधिमण्डलबीच आज भएको भेटवार्तामा नेपाल–चीनबीच जनस्तरसम्म विस्तार भएको न्यानो तथा मित्रवत् सम्बन्ध र संसदीय सम्बन्धलाई आगामी दिनमा थप मजबुत बनाउने विषयमा विचारविमर्श भएको उहाँको सचिवालयले जनाएको छ।

भेटमा सभामुख अर्यालले नेपाल र चीनबीच निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध रहेको उल्लेख गर्नुभयो।

उहाँले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याउनुभयो।

नेपालको विकास र पूर्वाधार निर्माणमा चीनले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै सभामुख अर्यालले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण गर्ने प्रयासमा चीनको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो।

दुई देशबीचको विकास सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी, परिणाममुखी र पारस्परिक हितमा आधारित बनाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपालले सडक, सुरुङ, सीमापार पूर्वाधार तथा अन्य विकासका क्षेत्रमा चीनसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै सभामुख अर्यालले पूर्वाधारमार्फत दुई देशबीचको आर्थिक तथा जनस्तरीय सम्बन्धलाई थप विस्तार गर्न सकिने धारणा राख्नुभयो।

भेटवार्तामा हालै रसुवामा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति पनि चर्चा भएको थियो। सभामुख अर्यालले विपद्मा परी बेपत्ता भएका चिनियाँ नागरिकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै विपद्को कठिन समयमा चीन सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो।

भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट रसुवा र आसपासका क्षेत्रमा परेको विपद्का क्रममा चीन सरकारले आपत्कालीन आर्थिक सहयोग, मानवीय सहायता तथा खोज तथा उद्धारका लागि आवश्यक सहयोग उपलब्ध गराएको स्मरण गर्दै सभामुख अर्यालले त्यसका लागि आभार व्यक्त गर्नुभयो।

विपद्को समयमा चीनले सुरुङ उद्धार तथा फरेन्सिक र डिएनए विशेषज्ञ टोलीसँगै ड्रोनलगायतका उपकरण उपलब्ध गराएर खोज तथा उद्धार कार्यमा सहयोग गरेको उहाँको सचिवालयले जनाएको छ।

विपद् व्यवस्थापनमा देखिएको यस्तो सहकार्यले दुई देशबीचको सम्बन्ध विकास र पूर्वाधार निर्माणमा मात्र सीमित नरही मानवीय सहयोग तथा संकटका समयमा समेत एकअर्कालाई साथ दिने तहसम्म विस्तार भएको सन्देश दिएको छ।

आगामी दिनमा विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, खोज तथा उद्धार तथा पुनर्निर्माणका क्षेत्रमा समेत सहकार्य विस्तार गर्न सकिने विषयमा पनि भेटवार्तामा जोड दिइएको छ।

सभामुख अर्यालले नेपाल र चीनका संसद्बीचको सम्बन्धलाई अझ संस्थागत र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। दुई देशबीच स्थापित संसदीय मैत्री समूह तथा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच भएको अन्तरसंसदीय सहकार्यसम्बन्धी समझदारीले संसदीय आदानप्रदान, अनुभव साझेदारी र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

नेपाल–चीनबीच राजनीतिक र कूटनीतिक सम्बन्धसँगै संसदीय संवाद, विकास साझेदारी, पूर्वाधार निर्माण तथा विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजान सके दुई देशबीचको परम्परागत मित्रतालाई थप परिणाममुखी बनाउन सकिने धारणा भेटवार्तामा व्यक्त भएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.