बिचारबिशेष

हिमालदेखि समुद्रसम्मले खोजिरहेछ जलवायु न्याय

गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशुली नदीमा आएको महाविनाशकारी बाढीपछि जलवायु परिवर्तनका कारण हिमाली मुलुक नेपालमा परिरहेको असरबारे विश्वको ध्यान खिचियो । तिब्बती भूभागमा हिमशिला खसेर सो बाढी आएको पुष्टि भएपछि जलवायु न्यायको प्रश्न यसअघिभन्दा बढी चासोमा रह्यो ।

नेपालले विनाशकारी बाढीको सामना गरिरहेकै बेला संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागिता जनायो । महासभामा विश्वको छाना मानिने हिमालयको मुलुक नेपाल जलवायु परिवर्तनको गम्भीर संकटमा परेको स्पष्ट सन्देश दिइयो ।

पृथ्वी तात्ने प्रक्रियामा नेपालको योगदान नगण्य भए पनि त्यसको असमान र गम्भीर असर भोगिरहेको नेपालले भोटेकोशी बाढीलाई जलवायु जोखिमको पछिल्लो उदाहरणका रूपमा प्रस्तुत गर्दै जलवायु संकट सिर्जना गर्न बढी योगदान गरेका मुलुकले जोखिममा रहेका देशलाई पर्याप्त सहयोग गर्नुपर्नेमा जोड दियो ।

नेपालको तर्क केवल हिमाल र हिमनदीमा सीमित छैन । हिमालमा भइरहेको परिवर्तन अन्ततः नदी, समुद्र र विश्वव्यापी पारिस्थितिक प्रणालीसंग जोडिएको विषय भएकाले हिमालसंगै समुद्रको वातावरणीय सन्तुलनलाई एकसाथ अघि बढाउनु नै सुरक्षित पृथ्वीको आधार हो भन्ने सन्देश नेपालले विश्वमञ्चमा अघि सारेको छ ।

नेपालले संयुक्त राष्ट्रसंघको महासभासंगै जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय छलफलमा पनि हिमालयको बढ्दो जोखिम र भोटेकोशी विपद्को प्रसंगलाई जोड दियो । नेपालले आयोजना गरेको “सगरमाथादेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि आह्वान” शीर्षकको उच्चस्तरीय कार्यक्रमको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्नुभयो । कार्यक्रमको उद्देश्य हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विनाशकारी परिणामतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउनु रहेको थियो ।

कार्यक्रममा मन्त्री खनालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकलाई दिइने आर्थिक सहयोगलाई दानका रूपमा नभई जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु जोखिममा रहेका, तर हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरेका मुलुकलाई दिइने सहयोग च्यारिटी नभई कानुनी र नैतिक दायित्व भएको बताउनुभयो ।

नेपालले जलवायु संकट सिर्जना गर्न नगण्य योगदान गरे पनि त्यसको गम्भीर असर भोगिरहेको भन्दै उहाँले जलवायु न्यायको सवाललाई अन्तर्राष्ट्रिय मञ्चमा अझ बलियो रूपमा उठाउनुभएको छ । उहाँका अनुसार हिमालयमा देखिएको वातावरणीय परिवर्तन नेपालका लागि मात्र नभई हिमाली नदी प्रणालीमा निर्भर करोडौँ मानिसको खाद्य सुरक्षा, खानेपानी, कृषि, जीविकोपार्जन र समग्र विकाससंग जोडिएको विषय हो ।

नेपालले बढ्दो जोखिमको उदाहरणका रूपमा रसुवास्थित नेपाल–चीन सीमावर्ती क्षेत्रमा भएको हिमताल विस्फोटपछि भोटेकोशीमा आएको विनाशकारी बाढीलाई प्रस्तुत गरेको छ ।

बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा जनधनसंगै सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । नेपालले यस विपद्बाट प्रभावित पुनर्निर्माण र जलवायु उत्थानशील पूर्वाधारका लागि अन्तर्राष्ट्रिय सहयोगको माग गरिरहेको छ ।

नेपालले हानि तथा क्षति कोषलाई पर्याप्त स्रोतसहित तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग पनि अघि सारेको छ । जलवायु विपद्बाट प्रभावित मुलुकलाई सहज, शीघ्र र पर्याप्त वित्तीय सहायता उपलब्ध हुनुपर्ने तथा यस्तो सहायता थप ऋणको बोझ बन्न नहुने नेपालको जोड छ । नेपालले भोटेकोशी विपद्पछि संयुक्त राष्ट्रसंघको हानि तथा क्षति कोषबाट सहयोगका लागि औपचारिक आग्रहसमेत गरिसकेको छ ।

जलवायु न्यायको प्रश्न

नेपालको एउटा मूल प्रश्न छ- जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्ने देश र समुदायले त्यसको सबैभन्दा ठूलो मूल्य कहिलेसम्म तिर्ने ? नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान ०.१ प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै सरकारले जलवायु परिवर्तनका कारण हुने क्षतिको असमान भारलाई अन्तर्राष्ट्रिय जलवायु न्यायको मुद्दासंग जोडेको छ ।

न्यून उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले हिमताल विस्फोट, बाढी, पहिरो, हिमनदीको तीव्र पग्लाइ, कृषि उत्पादनमा असर र पूर्वाधार क्षतिजस्ता जोखिम बढ्दै गएको अनुभव गरिरहेका छन् ।

त्यसैले नेपालको माग केवल भोटेकोशी बाढीपछिको तत्कालीन राहत र पुनर्निर्माणमा सीमित छैन । नेपालले हानि तथा क्षतिको न्यायोचित सम्बोधन, अनुदानमा आधारित जलवायु वित्त, प्रविधि हस्तान्तरण, प्रारम्भिक चेतावनी प्रणाली र दीर्घकालीन जलवायु उत्थानशील विकासलाई अन्तर्राष्ट्रिय प्रतिबद्धताको विषय बनाउन खोजेको छ ।

तर जलवायु न्यायको बहसलाई हिमालसम्म मात्र सीमित राखेर पनि पुग्दैन । समुद्र पृथ्वीको जलवायु प्रणालीको सबैभन्दा ठूलो ताप भण्डारका रूपमा रहेको अवस्थामा समुद्री वातावरणको संरक्षण पनि जलवायु न्यायकै हिस्सा बन्नुपर्छ ।

हिमालको संकट समुद्रसम्म

नेपालको जलवायु कूटनीतिमा पछिल्लो समय महत्वपूर्ण बन्दै गएको अर्को विषय हो—हिमाल र समुद्रबीचको अन्तरसम्बन्ध । हिमनदी पग्लिने, हिमतालको जोखिम बढ्ने र नदी प्रणालीमा परिवर्तन आउने विषय हिमालमा मात्र सीमित हुँदैन ।

नदीले बगाएर लैजाने पानी, पोषक तत्व, प्रदूषक पदार्थ र माटोका कण अन्ततः समुद्रसम्म पुग्छन् । त्यसैगरी समुद्रको तापक्रम वृद्धि, समुद्री सतह बढ्नु र समुद्री पारिस्थितिक प्रणालीमा आउने परिवर्तनले विश्वव्यापी जलवायु प्रणालीलाई प्रभावित गर्छ ।

यसैले हिमालयको संरक्षण र समुद्री वातावरणको संरक्षणलाई अलग–अलग विषयका रूपमा हेर्नु अपूर्ण हुन्छ । हिमालदेखि नदी हुँदै समुद्रसम्मको सम्पूर्ण पारिस्थितिक प्रणालीलाई एउटै जलवायु संकटको निरन्तरताका रूपमा बुझ्नुपर्ने अवस्था आएको छ ।

यही अन्तरसम्बन्धलाई विश्वव्यापी बहससंग जोड्ने एउटा महत्वपूर्ण सामग्री अमेरिकी वातावरणीय पत्रकार रोबर्ट हन्जिकरको “महासंगरको मृत्युको उल्टो गन्ती” (ओसन डेथ काउन्टडाउन) शीर्षकको लेख हो ।

“काउन्टरकरेन्ट्स डट ओआरजी”मा प्रकाशित उक्त लेखमा हन्जिकरले समुद्रको तापक्रम वृद्धि, पानीमा अक्सिजनको कमी, समुद्री “मृत क्षेत्र” विस्तार, समुद्री तापलहर र त्यसले समुद्री खाद्य शृंखलामा पारिरहेको प्रभावबारे चर्चा गरेका छन् ।

लेखमा समुद्रका कम अक्सिजन भएका …मृत क्षेत्रÚ को विस्तारलाई विशेष चिन्ताको विषयका रूपमा प्रस्तुत गरिएको छ । यस्ता क्षेत्रमा अक्सिजनको मात्रा यति कम हुन्छ कि धेरै समुद्री जीव बाँच्न सक्दैनन् । यसको असर एउटा प्रजातिमा मात्र सीमित नभई सूक्ष्म समुद्री जीवदेखि माछा र ठूला समुद्री जीवसम्म फैलिने खाद्य शृंखलामा पर्न सक्छ ।

समुद्री वातावरणमा आएको परिवर्तनको अर्को उदाहरणका रूपमा लेखमा ग्रे ह्वेल अर्थात् खरानी रङका ह्वेलको संकट प्रस्तुत गरिएको छ । “आइसीईएस समुद्री विज्ञान जर्नल” (आइसीईएस जर्नल अफ मरीन साइन्स) मा सन् २०२५ मा प्रकाशित जोसुवा डी. स्टुअर्ट र सहलेखकहरूको अध्ययनले पूर्वी उत्तर प्रशान्त क्षेत्रका ग्रे ह्वेलको पछिल्लो गिरावटलाई समुद्री तापक्रम वृद्धि, समुद्री बरफमा आएको परिवर्तन तथा आर्कटिक क्षेत्रमा उनीहरूको आहार बन्ने समुद्री जीवको उपलब्धतामा आएको परिवर्तनसंग जोडेको छ ।

समुद्रको संकट र खाद्य श्रृङ्खला

समुद्रको तापक्रम बढ्नु केवल पानी तात्नु मात्र होइन । यसको असर समुद्री जीवहरूको बासस्थान, आहार, प्रजनन र स्थानान्तरणमा समेत पर्छ । समुद्री तापलहर लामो र तीव्र हुँदै जाँदा कतिपय क्षेत्रमा ठूलो संख्यामा माछा, समुद्री चराचुरुंगी तथा अन्य जीव मर्ने घटना देखिएका छन् ।

समुद्रमा अक्सिजनको मात्रा घट्नु अर्को गम्भीर समस्या हो । तातो पानीले चिसो पानीको तुलनामा कम अक्सिजन धारण गर्छ । त्यसैले समुद्रको तापक्रम वृद्धि र अक्सिजनको कमी एकअर्कासंग जोडिएका समस्या हुन् । अक्सिजन घट्दै जाँदा समुद्री जीवहरू नयाँ क्षेत्रमा सर्न बाध्य हुन्छन् वा बाँच्न नसक्ने अवस्थामा पुग्छन् ।

यसको प्रभाव खाद्य शृंखलामा क्रमशः माथितिर सर्दै जान सक्छ । साना समुद्री जीवको संख्या घट्दा त्यसमा निर्भर माछा प्रभावित हुन्छन् । माछा घट्दा त्यसमाथि निर्भर समुद्री चराचुरुंगी, ह्वेल र अन्य ठूला जीव प्रभावित हुन्छन् । अन्ततः यसको असर समुद्रमा निर्भर मानव समुदायको खाद्य सुरक्षा र जीविकोपार्जनसम्म पुग्न सक्छ ।

यस दृष्टिले हेर्दा समुद्री वातावरणको संकट केवल समुद्रको समस्या होइन । यो मानव खाद्य सुरक्षा, अर्थतन्त्र, जैविक विविधता र समग्र पृथ्वीको वातावरणीय सन्तुलनसंग जोडिएको विषय हो ।

समुद्रको तापक्रम बढ्दा समुद्री जैविक विविधता, माछा, खाद्य सुरक्षा र तटीय समुदाय प्रभावित हुन्छन् । हिमालमा हिउँ र बरफको क्षय बढ्दा नदी प्रणाली र त्यसमा निर्भर जनजीवन प्रभावित हुन्छ । यी दुवैको अन्तिम असर मानव जीवन, खाद्य सुरक्षा र अर्थतन्त्रमा पर्छ ।

हिमालको हिउँ र समुद्रको पानी एउटै जलवायु प्रणालीका हिस्सा हुन् । हिमालको संरक्षणबिना नदी र समुद्रको भविष्य सुरक्षित रहँदैन, समुद्रको वातावरणीय सन्तुलनबिना हिमालबाट बग्ने पानी र त्यसमा निर्भर मानव सभ्यताको भविष्य पनि सुरक्षित रहँदैन । त्यसैले हिमालसंगै समुद्रको वातावरणीय सन्तुलनलाई एकसाथ अघि बढाउनु नै सुरक्षित पृथ्वीको आधार हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.