विश्व समाचार

आठवटा युद्ध अन्त्य गरेको भन्दै नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल सुरु गरेयता आठवटा द्वन्द्व समाधान गरेको बताउनुभएको छ ।

बुधबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै “यो समयको कुरा हो” भन्नुभयो । आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा बढी काम गरेको उहाँको दाबी थियो ।

“मैले अरू कसैले नगरेको काम गरेको छु । मैले घमण्ड गरिरहेको छैन, म तपाईंहरूलाई तथ्य मात्र बताउँदैछु । मैले आठवटा युद्ध समाधान गरेँ”, उहाँले भन्नुभयो ।

ट्रम्पले नोबेल समितिले आफूजस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिइए पनि त्यसले आफूले गरेका कामको महत्त्व कम नहुने बताउनुभयो । उहाँले सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिइएको विषयमा समेत प्रश्न उठाउनुभयो ।

ट्रम्पले गत वर्ष नोबेल शान्ति पुरस्कार पाउनुभएकी भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँगको भेटको पनि उल्लेख गर्दै उहाँले आफ्नो पदक आफूलाई दिएको दाबी गर्नुभयो ।

ट्रम्प प्रशासनले आर्थिक दबाब, व्यापार रणनीति र महसुलमार्फत विभिन्न देशलाई कूटनीतिक वार्तामा ल्याउन सफल भएको दाबी गर्दै आएको छ ।

तर डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो तथा कम्बोडिया–थाइल्यान्ड सीमा क्षेत्रमा पुनः द्वन्द्व देखिएको र युक्रेनमा स्थायी शान्ति कायम हुन नसकेको भन्दै उहाँको दाबीमाथि प्रश्न उठाइएको छ । मध्यपूर्वमा इरानसँग सम्बन्धित निरन्तर तनावले पनि उहाँको शान्ति प्रयासलाई चुनौती दिएको छ ।

नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोस्थित नर्वेजियन नोबेल समितिले स्वतन्त्र रूपमा प्रदान गर्छ । सन् २०२६ का सम्भावित दावेदारमा पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदकलगायतका नाम चर्चामा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.