राजनीति

प्रचण्डद्वारा बाढीपीडित २० परिवारलाई अस्थायी आवास हस्तान्तरण

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण घरबार गुमाएका नुवाकोटका २० परिवारलाई अस्थायी आवास हस्तान्तरण गरिएको छ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार नुवाकोटको बेलकोटगढी नगरपालिका–७, रातमाटेमा युवा संगठन वाईसीएल नेपालले निर्माण गरेका अस्थायी आवास प्रभावित परिवारलाई हस्तान्तरण गर्नुभएको हो।

वाईसीएल नेपालले बाढीबाट विस्थापित परिवारको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अस्थायी आवास निर्माण गरेको हो। संगठनका केन्द्रीय अध्यक्ष पुष्प ओलीका अनुसार करिब १५० अस्थायी आवास निर्माणाधीन छन्। तीमध्ये पूर्ण रूपमा तयार भएका २० वटा घर मंगलबार हस्तान्तरण गरिएको हो।

प्रभावित परिवारलाई तत्काल बसोबासको व्यवस्था गर्न निर्माण गरिएका अस्थायी आवासमा दुईवटा कोठा छन्। आवाससँगै खानेपानी, शौचालय, बिछ्यौना, खाद्यान्न तथा भान्सामा आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ।

बाढीका कारण घरबार गुमाएका परिवारलाई सुरक्षित ओत र दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत सामग्री उपलब्ध गराउनु कार्यक्रमको उद्देश्य रहेको छ।

वाईसीएलका अनुसार बाढीपछि उद्धार, राहत वितरण र प्रभावितको खोजीमा खटिएको संगठनले अहिले अस्थायी आवास निर्माण तथा विस्थापित परिवारको पुनःस्थापनालाई प्राथमिकता दिएको छ।

संगठनका केन्द्रीय उपाध्यक्ष हरि ढकालका अनुसार नुवाकोटमा केन्द्र, प्रदेश र जिल्ला तहबाट गरी करिब ६०० नेता तथा कार्यकर्ता विभिन्न राहत तथा पुनःस्थापनाका काममा परिचालित भएका छन्।

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले नुवाकोटका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो। घरबार गुमाएका परिवारलाई सुरक्षित स्थानमा राख्न विभिन्न ठाउँमा अस्थायी आश्रयस्थलसमेत सञ्चालन गरिएका थिए।

बाढी प्रभावित परिवारलाई दीर्घकालीन रूपमा पुनःस्थापना गर्न सुरक्षित आवास र आधारभूत पूर्वाधारको व्यवस्था चुनौतीका रूपमा रहेको छ।

सरकारले पनि बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि सम्भावित जग्गा पहिचान र एकीकृत बस्ती विकासको तयारी अघि बढाएको छ।

पुनःस्थापना योजनामा सडक, खानेपानी, सरसफाइ, विद्युत्, विद्यालय, स्वास्थ्य तथा सञ्चारजस्ता आधारभूत सुविधा समेट्नुपर्नेमा जोड दिइएको छ। वाईसीएल नेपालले निर्माणाधीन अन्य अस्थायी आवास पनि पूरा गरेर प्रभावित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको जनाएको छ।

तस्बिरः प्रदीपराज वन्त/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.