प्रत्येक नागरिकलाई गाँस, बास, कपास र शिक्षा–स्वास्थ्यको सुविधा दिनुपर्छ : ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक नागरिकले गाँस, बास, कपास तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सहज रूपमा पाउने अवस्था निर्माण गर्नुपर्ने बताउनुभएको छ।
उहाँले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभएको हो।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट सार्वजनिक गर्दै अध्यक्ष ओलीले राजनीतिक तथा नीतिगत बहस आम नागरिकको जीवनस्तर सुधार्ने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो।
उहाँले आफूहरूको राजनीतिक तथा सामाजिक मान्यताको मूल आधार मानवतावाद रहेको उल्लेख गर्दै नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने अवस्था निर्माण गर्नु राज्यको दायित्व भएको बताउनुभयो।
‘हाम्रो मूल दर्शन मानवतावाद हो। प्रत्येक नागरिकले खान, लाउन, बस्न, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था निर्माण गर्नु हाम्रो दायित्व हो,’ उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले जनताको जीवनस्तर माथि उठाउनु, गरिबी हटाउनु र विपन्नतालाई समृद्धिमा रूपान्तरण गर्नु आफ्नो राजनीतिक उद्देश्य रहेको उल्लेख गर्नुभयो।
त्यसका लागि आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो।
उहाँले रोजगारीको मूल्य काम गरेको समयका आधारमा मात्र नभई त्यसबाट प्राप्त हुने आम्दानीले निर्धारण गर्ने बताउनुभयो। नागरिकलाई आर्थिक रूपमा सुरक्षित बनाउन पर्याप्त आम्दानी हुने रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले कुनै एउटा वर्ग, समुदाय, पेसा वा क्षेत्रको मात्र नभई समग्र नेपाली समाजको उत्थानलाई लक्ष्य बनाउनुपर्ने धारणा राख्नुभयो।
‘रोजगारीको मूल्य काम गरेको समयले होइन, त्यसबाट प्राप्त हुने पर्याप्त आम्दानीले निर्धारण गर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले कुनै एउटा वर्ग, समुदाय, पेसा वा क्षेत्रको मात्र होइन, समग्र नेपाली समाजको उत्थानलाई लक्ष्य बनाउनुपर्छ।’
अध्यक्ष ओलीले जात, वर्ग वा समुदायका आधारमा विभेद नगरी सबै नागरिकलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताउनुभयो। सत्य, न्याय र समानताको बाटोबाट मात्रै समाजको समग्र कल्याण र समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो।
‘जात, वर्ग वा समुदाय जे भए पनि आम जनता नै हाम्रो प्राथमिकतामा हुनुपर्छ। अन्ततः हाम्रो मार्ग सत्य, न्याय र समानताको मार्ग हो,’ उहाँले भन्नुभयो।
यसैबीच, एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले सार्वजनिक गरेको वेबसाइटलाई पार्टीको नीतिगत अध्ययन, अनुसन्धान र बहसको माध्यमका रूपमा अघि बढाउने लक्ष्य राखेको छ।
एमालेको आधिकारिक विवरणअनुसार इन्स्पायरले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीबारे अध्ययन–अनुसन्धान गर्ने उद्देश्य राखेको छ।
प्रतिष्ठानले अर्थ तथा राजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासहितका विषयमा सामग्री उपलब्ध गराउने जनाएको छ।
नीतिनिर्माता, विषयविज्ञ तथा अध्येताबीच संवाद र अनुसन्धानलाई प्रोत्साहन गर्दै पार्टीका नीति, कार्यक्रम र राष्ट्रिय विकासका एजेन्डालाई थप सुदृढ बनाउने यसको लक्ष्य रहेको छ।
नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने, उत्पादन बढाउने र पर्याप्त आम्दानीसहितको रोजगारी सिर्जना गर्ने विषयलाई समृद्धिको आधारका रूपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले नीति निर्माणको केन्द्रमा आम नागरिकको हित हुनुपर्ने सन्देश दिनुभएको छ।




प्रतिक्रिया राख्नुहोस्