भोटेकोशी बाढीपछिको पुनर्निर्माण एडिबीको उच्च प्राथमिकतामा
भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माण र विपद्पछिको पुनरुत्थानलाई एसियाली विकास बैंक (एडिबी) ले उच्च प्राथमिकतामा राखेको छ। बैंकका अध्यक्ष मासातो कान्दाले नेपालको विकासका लागि सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंककमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडिबीका अध्यक्ष कान्दाबीच भएको भेटवार्तामा विपद्पछिको पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालको दीर्घकालीन आर्थिक प्राथमिकताका विषयमा छलफल भएको हो।
भेटमा अर्थमन्त्री वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु परिवर्तनका असर सामना गर्न सक्ने पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत परिचालनमा सहयोग गर्न अध्यक्ष कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।
अर्थमन्त्री वाग्लेले भोटेकोशी बाढीपछि उद्धार कार्यमा सहयोग पुर्याउन आपत्कालीन अनुदान शीघ्र स्वीकृत गरेको र ऐक्यबद्धता व्यक्त गरेकोमा एडिबीप्रति आभार व्यक्त गर्नुभएको थियो।
अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताउनुभएको थियो। भेटवार्तामा अर्थसचिव डा. घनश्याम उपाध्याय र अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी हुनुहुन्थ्यो।




प्रतिक्रिया राख्नुहोस्