खेलफूटबल

एसियाली कप सर्न सक्ने एएफसीको सङ्केत

साउदी अरेबियामा आगामी जनवरीमा हुने एसियाली फुटबल कप सुरक्षा अवस्थाका कारण सन् २०२८ सम्म सार्न सकिने एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल–खलिफाले बताउनुभएको छ । तर, यसबारे निर्णय गर्न अहिले हतार नगर्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

सन् २०२७ को प्रतियोगिता जनवरी ७ देखि जेद्दा, रियाद र अल खोबरमा आयोजना गर्ने तय भएको छ । मध्यपूर्वमा सैन्य तनाव बढेसँगै साउदी अरेबियाको सुरक्षाबारे चिन्ता बढेको छ ।

एएफसीले नोभेम्बरको अन्त्यसम्म अवस्थाको प्रतीक्षा गर्न सक्ने र आवश्यक परे प्रतियोगिता एक वर्षपछि सार्न सकिने अध्यक्ष अल–खलिफाले बुधबार जुरिचमा बताउनुभयो । अहिले भने तयारी निर्धारित समयअनुसार अघि बढिरहेको उहाँको भनाइ थियो ।

क्षेत्रीय तनावका कारण साउदी अरेबियाका खेलकुद प्रतियोगितासमेत प्रभावित भएका छन् । क्षेप्यास्त्र आक्रमण रोकिएको खबरपछि क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरको एसियाली च्याम्पियन्स लिगको खेल एक घण्टा ढिलो सुरु भएको थियो । साउदी घरेलु फुटबलका तीन खेल स्थगित भएका छन् भने सिक्स किङ्स स्लाम प्रदर्शनी टेनिस प्रतियोगिता डिसेम्बरको अन्त्यसम्मका लागि सारिएको छ ।

एसियाली कपमा सहभागी हुने २४ टोलीमध्ये अस्ट्रेलियाले साउदी अरेबियाको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ । दक्षिण कोरियाली फुटबल खेलाडीहरूको प्रतिनिधित्व गर्ने कोरिया प्रोफेसनल फुटबलर्स एसोसिएसनले पनि बिहीबार खेलाडीको सुरक्षाबारे चिन्ता व्यक्त गरेको छ ।

संस्थाका अध्यक्ष ली केउन–होले मध्यपूर्वको सैन्य तनाव र अस्थिरतालाई हल्का रूपमा लिन नसकिने तथा कुनै पनि प्रतियोगिताभन्दा खेलाडी र समर्थकको जीवन र सुरक्षा महत्त्वपूर्ण हुने बताउनुभएको योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.