कर्णाली प्रदेशलाई चीनसंग जोड्ने महत्वपूर्ण नाका हुम्लाको हिल्सामा बनेको मैत्रीपुल संचालनमा आउन नसक्दा आवतजावतकका लागि बेलीब्रिजको भर पर्नुपरिहेको छ भने चीनतर्फ हुने जडिबुटी निकासी पनि प्रभावित बनेको छ ।
हिल्सामा निर्माण सम्पन्न भएको मैत्रीपुल ११ महिनादेखि सञ्चालनमा आउन नसक्दा आवतजावतका लागि बेलीब्रिजको भर पर्नुपरेको छ। पुल सञ्चालनमा नआउँदा चीनतर्फ २९ प्रकारका जडिबुटी निकासी गर्ने तयारीसमेत प्रभावित भएको छ।
निर्माण सम्पन्न भएको पुल उद्घाटनका लागि चिनियाँ पक्ष तयार भए पनि नेपाली पक्षले समय मिलाउन नसक्दा सञ्चालनमा ढिलाइ भएको बताइएको छ। भोटेकोशीमा आएको बाढीलगायतका समस्याका कारण उद्घाटनको तयारी अघि बढ्न नसकेको जनाइएको छ।
यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार चिनियाँ पक्षले पुल उद्घाटन गरी सञ्चालनमा ल्याउन नेपालसँग आग्रह गरेको छ। तर, नेपाली पक्षबाट आवश्यक समय र व्यवस्थापन मिल्न नसकेका कारण यस वर्ष पनि पुल सञ्चालनमा आउने सम्भावना न्यून रहेको उहाँले बताउनुभयो।
उद्घाटन नभएकै कारण चीनले आफ्नोतर्फ पुलमा बार लगाएर आवतजावत बन्द गरेको छ। हिमपातको मौसम सुरु भइसकेकाले अब तत्काल उद्घाटन गर्न कठिन हुने र पुल सञ्चालनको प्रक्रिया कम्तीमा आठदेखि नौ महिना पछाडि धकेलिन सक्ने जैसीले बताउनुभयो।
सम्बन्धित निकायले पुल उद्घाटनको व्यवस्था गर्न आफूलाई मौखिक आग्रह गरेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय हुम्लालाई लिखित जानकारी गराएको उहाँले बताउनुभयो।
हिल्सा नाकाबाट यसअघि आयातको मात्रै अनुमति थियो। पछिल्लो समय चीनले २९ प्रकारका जडिबुटी निकासी गर्न अनुमति दिएपछि यो नाका नेपालका लागि थप महत्त्वपूर्ण बनेको छ।
मैत्रीपुल सञ्चालनमा आएपछि मालवाहक कन्टेनरहरू पुल हुँदै सिधै नेपाली सीमासम्म आउन सक्नेछन्। तर, पुल प्रयोगमा नआउँदा व्यापार विस्तारको सम्भावना उपयोग हुन सकेको छैन।
हाल नेपालले निर्माण गरेको बेलीब्रिजबाट यातायातका साधन आवतजावत गरिरहेका छन् भने स्थानीय बासिन्दा तथा पर्यटकले झोलुङ्गे पुल प्रयोग गर्दै आएका छन्। यसले चीनसँगको सीमापार आवतजावत र व्यापारमा थप झन्झट सिर्जना गरेको छ।
गत वर्ष मङ्सिरमा निर्माण सम्पन्न भएको उक्त मैत्रीपुल चीनले करिब छ महिनामा बनाएको थियो। पुलसँगै चीनले नेपालतर्फको साढे तीन सय मिटर सडक पनि निर्माण गरेको छ।
निर्माण सम्पन्न भएर पनि प्रयोगमा आउन नसकेको पुल सञ्चालनमा ल्याउन चीनले जिल्ला प्रशासन कार्यालय हुम्लालाई पत्राचार गरेको थियो।
गत वैशाख १० गते नेपाल र चीनका स्थानीय प्रतिनिधिबीच छलफलसमेत भएको थियो। तर, उद्घाटनको मिति र सञ्चालन प्रक्रियाबारे ठोस निर्णय हुन सकेन।
रणनीतिक र व्यापारिक महत्त्व बोकेको हिल्सा नाकामा पूर्वाधार निर्माण भए पनि आवश्यक समन्वय र व्यवस्थापनको अभावमा त्यसको लाभ लिन नसकिएको देखिन्छ।
मैत्रीपुल सञ्चालनमा ल्याउन सम्बन्धित नेपाली निकायले समयमै पहल नगरे जडिबुटी निकासीको अवसर गुम्नुका साथै सीमापार व्यापार र आवतजावतमा थप ढिलाइ हुने जोखिम छ।




प्रतिक्रिया राख्नुहोस्