दशैं सकिएसंगै पहाडी भेगका किसानहरुलाई धान थन्काउने चटारो छ । यतिबेला पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर बनेका छन् ।
धान थन्काउने मुख्य समयमै दशैं भित्रिएकाले अहिले किसानहरू परिवार र आफन्तजनसँग चाडपर्वको खुसियाली साट्नमा व्यस्त देखिन्छन् ।
दशैंको टीका–जमरार खानपिन सकिने बित्तिकै धान थन्काउने चटारो सुरु हुने भोजपुर नगरपालिका–६ की किसान सङ्गीता खड्का बताउनुहुन्छ ।
कात्तिक महिनाको सुरुआतसँगै पहाडी भेगको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धान पाकेर पहेँलो भएपछि यहाँको वातावरण नै रमणीय बनेको छ ।
यस वर्ष अनुकूल मौसम, समयमै भएको मनसुन र पर्याप्त सिँचाइका कारण धान उत्पादन विगतको तुलनामा राम्रो हुने आशा रहेको किसानको भनाइ छ ।
भोजपुर नगरपालिका–५ का स्थानीय किसान भीमसेन फुयालले पहेँलै बनेको धानले गाउँघर तथा डाँडाको पाखाको सौन्दर्य बढाएको बताउनुभयो ।
चाडबाड सकिएलगत्तै खेतमा पुगेर धान काट्ने, मुठा बाँध्ने, दाइँ हाल्ने र धान भण्डारण गर्ने चटारो सुरु हुने किसान फुयालले जानकारी दिनुभयो । चाडपर्वपछि गाउँमा परम्परागत रुपमा चल्दै आएको ‘अर्मपर्म’ गरेर धान भण्डारको काम सुर हुने उहाँको भनाइ छ ।
मेसिनरी औजारको पहुँच सहज नभएका भिराला खेतहरूमा परिवारका सदस्यहरूसँगै छिमेकीहरू मिलेर धान काट्ने र भित्र्याउने चलन रहेको किसान फुयाल बताउनुहुन्छ । वर्षभरिको मुख्य खाद्यान्न बाली राम्रोसँग घर भित्र्याएपछि ढुक्क हुने उहाँले बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्