जन सरोकार

तिहारसम्म सयपत्री फूल जोगाउने चिन्तामा किसान

झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म कसरी जोगाएर राख्ने भन्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुलेपछि किसानले गुणस्तर बिग्रिन नदिन टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन् ।

वर्षा भएमा फूल बिग्रिने जोखिमसमेत रहेकाले किसानले फूल टिप्ने, माला उन्ने र भण्डारण गर्ने कार्यलाई तीव्रता दिएका छन् । तिहार आउन झन्डै दुई हप्ता बाँकी रहँदा फूल सुरक्षित राख्नुपर्ने बाध्यता भएको बुद्धशान्ति–३ स्थित कृषि कम्पासका व्यवस्थापक विनोद रिजालले बताउनुभयो ।

“तीन–तीन दिनमा फूल टिपिन्छ”, रिजालले भन्नुभयो, “टिपेको फूल सुरक्षित राख्न बिर्तामोडस्थित रोयल कोल्डस्टोरमा पुर्याउन थालेका छौँ ।” फूल भण्डारणका लागि छुट्टै कोल्डस्टोर नहुँदा उपलब्ध सुविधामै निर्भर हुनुपरेको उहाँले बताउनुभयो । “फूलका लागि अलग्गै कोल्डस्टोर हुन्छ, तर झापामा त्यो सुविधा छैन”, उहाँले भन्नुभयो, “जे जस्तो भए पनि यहाँ उपलब्ध स्टोरमै फूल सुरक्षित राख्न बाध्य छौँ ।”

अर्जुनधारा–१० स्थित मिश्र कृषि फार्मका आयुष मिश्रले पनि वर्षाका कारण फूल बिग्रिने जोखिम रहेकाले टिपेर भण्डारण गर्नुपरेको बताउनुभयो । पानी परे फूल कालो हुने र गुणस्तरमा असर पर्ने भएकाले टिपेर माला उन्दै कोल्डस्टोरमा राख्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

झापामा यस वर्ष कनकाईमाईपूर्व मात्रै १६ बिघाभन्दा बढी जमिनमा सयपत्री फूलखेती गरिएको छ । बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा किसान तथा विभिन्न समूहले तिहारलाई लक्षित गरी व्यावसायिक रूपमा फूल उत्पादन गरिरहेका छन् ।

स्वदेशी फूलको बजार संरक्षणको माग

यसैबीच फूल सुरक्षित राख्ने चुनौतीसँगै उत्पादित फूलले उचित बजार पाउने विषयले पनि किसानलाई चिन्तित बनाएको छ । भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने र लगानी खेर जाने अवस्था आउन सक्ने किसानको गुनासो छ ।

बिर्तामोडकी कृषक शुष्मा पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सात बुँदे मागपत्र बुझाएको छ ।

किसानले स्वदेशी सयपत्रीलाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिन र भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.