चुनावपछि इरानमा आक्रमण गर्न अरब मुलुकहरुलाई अमेरिकाको अनुरोध
अमेरिकाले आगामी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध छोटो तर तीव्र सैन्य कारबाही हुन सक्ने भन्दै खाडी क्षेत्रका केही अरब मुलुकलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अन्तिम निर्णय गरिनसके पनि अमेरिका र इजरायलले सम्भावित सैन्य कारबाहीको तयारी अघि बढाइरहेको वाल स्ट्रिट जर्नल ले स्रोतहरूलाई उद्धृत गर्दै बुधबार जनाएको छ।
समाचारअनुसार, अमेरिकी अधिकारीहरूले कूटनीतिक तथा सैन्य माध्यमबाट खाडी क्षेत्रका मुलुकलाई सम्भावित नयाँ सैन्य तनावबारे जानकारी गराएका छन्।
अमेरिका र इजरायलले इरानको सैन्य क्षमता कमजोर पार्दै उसलाई वार्ताको टेबुलमा फर्काउने उद्देश्यले अर्को चरणको आक्रमणको विकल्प तयार पारिरहेको बताइएको छ।
मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले गोलाबारुदको भण्डार पुनः भरिरहेको छ भने बमवर्षक र लडाकु विमानलाई सम्भावित आक्रमणका लागि तयारी अवस्थामा राखिएको छ।
अमेरिकी सेनाले जोखिममा रहेका केही सैन्य अखडाबाट सैनिकलाई सुरक्षित स्थानमा सार्ने र क्षेत्रीय हवाई प्रतिरक्षा क्षमता बलियो बनाउने कामसमेत गरिरहेको समाचारमा उल्लेख छ।
इजरायलले पनि इरानमाथि नयाँ आक्रमण गर्न सकिने लक्ष्य पहिचान गरी सैन्य योजना तयार पारेको बताइएको छ। सम्भावित लक्ष्यमा इरानका ऊर्जा पूर्वाधार, आणविक केन्द्र र क्षेप्यास्त्र तथा ड्रोनसम्बन्धी सैन्य क्षमता पर्न सक्ने स्रोतहरूको भनाइ छ।
ट्रम्पको निर्णय निर्वाचनपछि
अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि निर्वाचन हुँदैछ। ट्रम्पले यसअघि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताउनुभएको थियो। अक्टोबर ८ मा उहाँले इरानसँग ‘सकारात्मक छलफल’ भइरहेको उल्लेख गर्दै निर्वाचनअघि आक्रमण नगर्ने सार्वजनिक घोषणा गर्नुभएको थियो।
तर निर्वाचनपछि सैन्य कारबाहीको सम्भावना खुला रहेको अमेरिकी सञ्चारमाध्यमका पछिल्ला विवरणले देखाएका छन्। वाल स्ट्रिट जर्नल का अनुसार, ट्रम्प इरानका पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी ठूलो आक्रमण गर्ने विकल्पतर्फ झुक्नुभएको छ। यद्यपि, उहाँले अन्तिम निर्णय गरिसक्नुभएको छैन।
ट्रम्पले सैन्य कारबाहीसँगै कूटनीतिक सम्झौताको विकल्प पनि खुला राख्नुभएको छ। उहाँले गत साता अमेरिकाले इरानमाथि पुनः बमबारी अभियान सञ्चालन गर्न सक्ने वा तेहरान सम्झौताका लागि तयार हुन सक्ने बताउनुभएको थियो। यसले अमेरिकी प्रशासनले सैन्य दबाब बढाएर वार्तामा इरानलाई सहमत गराउने रणनीति अपनाउन सक्ने संकेत गरेको छ।
क्षेत्रीय तनाव बढ्ने जोखिम
इरानमाथि पुनः आक्रमण भए त्यसको प्रभाव अमेरिका र इरानमा मात्र सीमित नहुने जोखिम छ। खाडी क्षेत्रका मुलुकमा अमेरिकी सैन्य अखडा, ऊर्जा पूर्वाधार र महत्त्वपूर्ण समुद्री मार्ग रहेकाले द्वन्द्व विस्तार भए क्षेत्रीय सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा असर पर्न सक्छ।
इरानले अमेरिकी आक्रमण भए जवाफी कारबाही गर्ने चेतावनी दिँदै आएको छ। त्यसैले नयाँ सैन्य अभियान सुरु भए प्रत्याक्रमण र त्यसको प्रतिकारका कारण द्वन्द्व थप चर्किन सक्ने चिन्ता छ।
यसैबीच, मध्यपूर्वका मध्यस्थकर्ताहरूले अमेरिका र इरानबीच वार्ता पुनः अघि बढाउने प्रयास गरिरहेका छन्। तर अहिलेसम्म ती प्रयासले ठोस परिणाम दिन सकेका छैनन्।
अमेरिका र इजरायलले सैन्य तयारी तीव्र पारेको विवरण सार्वजनिक भए पनि आक्रमणको समय, आकार र लक्ष्यबारे अन्तिम निर्णय भइसकेको छैन।
त्यसैले निर्वाचनपछि इरानमाथि पुनः सैन्य कारबाही हुन्छ वा कूटनीतिक सम्झौताको बाटो खुल्छ भन्ने कुरा ट्रम्प प्रशासनको आगामी निर्णय र वार्ताको प्रगतिमा निर्भर रहनेछ।




प्रतिक्रिया राख्नुहोस्