राजनीति

संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले सम्भव भएसम्म संसदीय छलफलबाटै कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधानले दिएको अधिकार प्रयोग गरी सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि सम्भव भएसम्म जनताको सर्वोच्च थलो संसद्बाट पर्याप्त छलफल गरी कानुन निर्माण गर्न उपयुक्त हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।

“संविधानले दिएको अधिकार प्रयोग गरेर अध्यादेश ल्याउने कुरालाई अन्यथा मान्नु हुँदैन । आवश्यकताका आधारमा राज्यले गर्ने निर्णयलाई सम्मान गर्नुपर्छ”, शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “तर सदन चलाउन हामी तयार छौँ । सम्भव भएसम्म धेरैभन्दा धेरै छलफल सदनमै गरेर कानुन निर्माण गर्दा राज्यका सबै निकाय र नागरिकका लागि उपयुक्त हुन्छ ।”

कानुन निर्माणअघि धेरैभन्दा धेरै सरोकारवालाबीच बहस र छलफल हुनुपर्ने उहाँको भनाइ छ । संसद्मा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्र र जनताका विषय उठाउन पाउने तथा छलफलबाट बनेको कानुन बढी प्रभावकारी हुने उहाँले बताउनुभयो ।

सरकारले कतिपय महत्त्वपूर्ण विषयका कानुन अध्यादेशमार्फत ल्याउन लागेको भन्ने चर्चाका बीच सभामुख अर्यालको सोे भनाइ आएको हो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.