जन सरोकार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस शुक्रबार अपराह्न तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्र नावा खोलामा फसेको छ ।

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो । बस फसेपछि बसमा रहेका करिब ३० जना यात्रुहरूलाई जेसिबीको सहायताले सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो ।

प्रदेश १–०१–००१ ख ४२३३ नम्बरको बस नावा खोलामा फसेको हो । बस पनि जेसिबीको सहायताले निकालिएको छ । बिहीबार बिहानैदेखि भइरहेको वर्षाका कारण नावा खोलासहित विभिन्न खोलामा पानीको सतह बढेको छ । खोलामा पानीको बहाव उच्च भएपछि तमोर करिडोर सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ र सुनसरीका तराई क्षेत्रलाई धनकुटा हुँदै पाँचथर, तेह्रथुमबाट हिमाली जिल्ला ताप्लेजुङसँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा तमोर करिडोर रहेको छ । तर, नावा खोलामा हालसम्म पक्की पुल निर्माण नहुँदा वर्षायाममा बाढी आउनेबित्तिकै सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।

पुल निर्माणको ठेक्का लागे पनि पटकपटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुनसकेको छैन । जसले गर्दा यात्रु तथा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.