जन सरोकार

आवासीय विद्यालय सञ्चालन गर्न महायज्ञ आयोजना

म्याग्दी जिल्लाको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयलाई आवासीयमा रुपान्तरण गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको छ ।

महायज्ञ

यही कात्तिक २६ देखि आगामी मङ्सिर ३ गतेसम्म कुहुँस्थित विद्यालय परिसरमा सञ्चालन हुने ‘म्याग्दी मालिका टोड्के, शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ’ स्थलमा पूर्वाधार निर्माण सुरु, प्रचारप्रसार र व्यवस्थापकीय तयारी तीव्र पारिएको हो ।

विद्यालयलाई आवासीयमा रुपान्तरण, स्मार्ट विद्यालयको अवधारणाअनुसार सूचना प्रविधिको प्रयोग गरी पठनपाठन, सिकाई उपलब्धि र गुणस्तर वृद्धि गराउने तथा खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको प्रअ नन्दबहादुर खत्रीले जानकारी दिनुभयो ।

“विपन्न, भौगोलिक रूपमा विकट र अपायक पर्ने ठाउँका साथै कमजोर विद्यार्थीलाई आवासीय सुविधा दिएर अतिरिक्त कक्षा सञ्चालन गरी सिकाई उपलब्धि वृद्धि गर्ने उद्देश्य राखेका छौँ,” उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर वृद्धि गरेर अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजाने समस्या न्युनीकरण गर्ने पनि उद्देश्य हो ।”

पण्डित दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुने महायज्ञबाट रु तीन करोड जुटाउने र रु दुई करोड बचत गर्ने लक्ष्य राखिएको सहायक प्रअ हरिकृष्ण भट्टराईले बताउनुभयो । भागवत पाठ–पारायण, पुजाआजा, भजनकिर्तन, कशलयात्रा, आरती, झाकी प्रर्दशनि गरिने उहाँले बताउनुभयो ।

कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल १९६ जना विद्यार्थी छन् । विसं २०१७ मा स्थापना भएको विद्यालयले विसं २०४७ देखि माध्यमिक र विसं २०६५ देखि दश जोड दुई तहको पठनपाठन सञ्चालन गर्दै आएको व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर घर्ती क्षेत्रीले बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.