राजनीति

निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ ।

मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाँउपालिका, पर्साको जिराभवानी गाँउपालिका र काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको हो ।

मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार पालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको थियो । तर, सरुवा भएको निकायमा हाजिर नगरी उनीहरू सोही पालिकामा कार्यरत रहँदै आएका थिए । यसैबीच, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत पालिकाले हाजिर गराएको थिएन ।

सरुवा भएर पनि साविककै कार्यालयमा कार्यरत रहेको तथा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको विषयमा मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरेको हो । मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ ।

मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.