एन आर एन न्युज

एनआरएनए-एनसीसी पदाधिकारीको रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारीहरूको नेतृत्व तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ।

प्रशिक्षण नेतृत्व, संस्थागत व्यवस्थापन, आर्थिक पारदर्शिता र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानमा केन्द्रित रहेको थियो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), गैरआवासीय नेपाली संघ र स्विस सरकारको सहकार्यमा सञ्चालित ‘माइग्रेन्ट राइट्स एन्ड डिसेन्ट वर्क’ परियोजनाको दोस्रो चरणअन्तर्गत अक्टोबर २८ देखि ३० सम्म गोदावरीमा कार्यशाला आयोजना गरिएको थियो।

शुक्रबार सम्पन्न कार्यशालामा खाडी सहयोग परिषद् (जीसीसी) अन्तर्गतका बहराइन, कुवेत, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र कतारसहित मलेसियाका एनआरएनए राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी सहभागी भएका थिए।

कार्यशालामा संस्थागत नेतृत्व तथा व्यवस्थापन, प्रतिवेदन लेखन, आर्थिक पारदर्शिता र जवाफदेहिताका विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो।

त्यसै गरी, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले भोग्ने समस्या, उनीहरूको उद्धार, सहायता र संरक्षणमा एनसीसीको भूमिका तथा जिम्मेवारीबारे पनि अनुभव आदानप्रदान गरिएको थियो।

कार्यशालाको समापन कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा भर्चुअल माध्यमबाट सहभागी हुनुभएको थियो। कार्यक्रममा उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव डा. चिरञ्जीवी खड्का, सहकोषाध्यक्ष गंगा खतिवडा, उपमहासचिवद्वय दिनेश घिमिरे र वेद बस्नेतलगायत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको उपस्थिति थियो।

त्यसैगरी, एनसीसी अमेरिकाका अध्यक्ष विकास उप्रेती, दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्याय, विभिन्न देशका एनसीसी अध्यक्ष तथा पदाधिकारी, अन्तर्राष्ट्रिय श्रम संगठनका राष्ट्रिय संयोजक रोनी धौभाडे र सचिवालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तीनदिने कार्यशालाले विभिन्न देशमा रहेका एनसीसी पदाधिकारीको नेतृत्व तथा संस्थागत कार्यक्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूबीच अनुभव आदानप्रदान र समन्वय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या पहिचान, उद्धार तथा सहयोगका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्यशालाबाट प्राप्त ज्ञान उपयोगी हुने विश्वास गरिएको छ। समापनका अवसरमा कार्यशालामा सहभागी एनसीसी पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.