राष्ट्रिय गौरवका विभिन्न सिँचाइ आयोजनाले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएका छन् ।
जलस्रोत तथा सिँचाइ विभागका अनुसार सिक्टा र बबई आयोजनाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म थप ३००–३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेका छन् ।
सिक्टा सिँचाइ आयोजनाले रु ५४ करोड तीन लाख लागत अनुमानका चारवटा बोलपत्र आह्वान गरिसकेको छ । आयोजनाले पुस मसान्तसम्म रु दुई अर्ब ४८ करोड ३० लाख बराबरका थप १७ वटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ । सोही अवधिमा थप ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिइएको छ ।
बबई सिँचाइ आयोजनाले पनि पुस मसान्तसम्म थप ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताउनुभयो ।
रानी जमराको भौतिक प्रगति १५ प्रतिशत
विभागका अनुसार कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले रु एक अर्ब ३३ करोड ३५ लाख लागत अनुमानका छवटा बोलपत्र आह्वान गरेको छ । आयोजनाको भौतिक प्रगति साउनमा आठ प्रतिशत रहेकामा भदौ मसान्तसम्म बढेर १५ प्रतिशत पुगेको छ ।
आयोजनाको वित्तीय प्रगति पनि सोही अवधिमा ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ । आयोजनाले पुस मसान्तसम्म रु दुई अर्ब ३० करोड बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध निर्माण गर्ने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाले पुस मसान्तसम्म रु ६१ करोड बराबरका चारवटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ ।
त्यस्तै, सुनकोशी मरिन डाइभर्सन आयोजनाले पुस मसान्तसम्म ९७ हेक्टर जमिनमा लिफ्ट सिँचाइ सुविधा पुर्याउने र ६.१८ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य राखेको छ ।
विभिन्न सिँचाइ आयोजनाको निर्माण तथा विस्तारसँगै थप कृषि भूमिमा सिँचाइ सुविधा पुग्ने र यसबाट किसानलाई खेतीपाती गर्न सहज हुने अपेक्षा गरिएको छ । (रासस)




प्रतिक्रिया राख्नुहोस्