जन सरोकार

कात्तिक २० गते ११ः०२ बजे भाइटीकाको उत्तम साइत, यस वर्ष रानीपोखरी १२ घण्टा खुल्ने

यस वर्षको तिहारको महत्पूर्ण दिन भाइटीको उत्तम साइत कात्तिक २० गते शनिबार बिहान ११ः०२ बजे रहेको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न शुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

यस अवसरमा विकृतिका रूपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्कन भने छोडेको छैन ।

रानीपोखरी १२ घण्टा खुल्ने

भाइटीकाका लागि यस वर्ष रानीपोखरी बिहान ६ देखि साँझ ६ बजेसम्म खुला गरिने भएको छ । भूकम्पका कारण क्षति भएको उक्त ऐतिहासिक सम्पदाको गत वर्ष कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः निर्माण सम्पन्न रानीपोखरीको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनपश्चात् गत वर्ष पनि उक्त सम्पदामा सर्वसाधारणका लागि टीका लगाउन खुला गरिएको थियो । अन्य समयमा बन्द रहने उक्त पोखरी नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारमा भाइटीकाका दिन खुला गर्ने गरिन्छ ।

उक्त स्थानमा दाजुभाइ नभएको दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइहरूले सामूहिक रूपमा भाइटीका लगाउने गर्दछन् । यस वर्ष आगामी २० गते शनिबार भाइटीका परेको छ । यस सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनः निर्माण सम्पन्न भएको हो । उक्त दिन सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर दर्शन गर्न पाउनेछन् ।

भूकम्पपछि पुनः निर्माण सम्पन्न नहँदासम्मको पाँच वर्ष हरेक वर्षको तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीको रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनः निर्माणको सुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माण कार्य करिब पाँच वर्षभित्र सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७/ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.