किन जापानी युवाहरू भविष्यप्रति न्यून आशावादी ?
जापानका युवापुस्तामा निराशा बढ्दै गएको छ । जसको परिणाम अन्य मुलुकको तुलनामा उनीहरु आफू र आफ्नो मुलुकको भविष्यप्रति त्यति आशावादी नरहेका एक सर्वेक्षणले देखाएको छ ।
जापान, अमेरिका, चीन, दक्षिण कोरिया, बेलायत र भारतका युवाहरुमाझ हालै गरिएको एक सर्वेक्षणमा जापानका धेरै युवाहरू अन्य पाँच राष्ट्रका साथीहरूको तुलनामा आफ्नो र आफ्नो देशप्रति न्यून अपेक्षाहरूका साथ बाँचिरहेको पाइएको हो ।
‘निप्पन फाउन्डेसन’ले १७ देखि १९ वर्ष उमेर समूहका १,००० युवाहरूमाझ गरेको “१८ वर्षका युवाहरूको सचेतना सर्वेक्षण”ले यस्तो तथ्य फेला पारेको हो। सर्वेक्षणअनुसार केवल १६ प्रतिशत जापानी उत्तरदाताहरूले मात्र आफ्नो देशको भविष्य सुधार हुनेमा विश्वास व्यक्त गरेका छन्।
सहभागी देशहरूमध्ये यो सबैभन्दा कम दर हो। भारत र चीनमा भने क्रमशः ६२ र ५५ प्रतिशत युवाहरूले देशको भविष्य राम्रो हुने विश्वास राखेका छन्, जुन सबैभन्दा उच्च हो। सर्वेक्षणमा दक्षिण कोरिया २३.५, अमेरिका ३०.८ र बेलायत ३४ प्रतिशत रहँदै सबै जापानभन्दा माथि रहेका छन्।
त्यस्तै जापानी युवाहरूले आफ्नो व्यक्तिगत भविष्यको बारेमा पनि निराशावादी दृष्टिकोण राखेको सर्वेक्षणका क्रममा पाइएको छ । केवल ६२ प्रतिशत जापानी युवाहरूले आफ्नो भविष्यको लागि कुनै सपना रहेको बताएका छन् ।
जुन सहभागी देशहरूमध्ये सबैभन्दा न्यून हो। यो भारतको तुलनामा २० अंकले कम हो, जहाँ लगभग ८६ प्रतिशत युवाहरूले आफ्नो सपना भएको बताएका छन्।
अन्य प्रश्नहरूमा पनि जापानी युवाहरूको उत्साह कमै देखियो। “मसँग अध्ययन, काम वा रुचि जस्ता म खुसी हुनसक्ने कुनै कुरा छ” र “मलाई अरूद्वारा आवश्यक ठानिन्छ” भन्ने जस्ता भनाइहरूमा सहमत हुने जापानी युवाहरूको संख्या सबैभन्दा कम थियो।
यस्तो मनोवृत्ति जापानी युवाहरूको शिक्षा र रोजगारीरप्रतिको दृष्टिकोणमा पनि झल्किएको छ। विद्यालयमा अध्ययन गर्नुको मुख्य कारणबारे सोधिएको प्रश्नमा, अन्य पाँच देशका केवल २ प्रतिशत युवाहरूले मात्र खास केही छैन भन्ने उत्तर दिएका थिए। तर, जापानमा भने करिब २० प्रतिशत युवाहरूले “खास केही छैन” भन्ने विकल्प रोजेका छन्, जुन निकै भिन्न र अनौठो नतिजा हो।
जागिर छनोट गर्दा कस्ता गुणहरू महत्त्वपूर्ण हुन्छन् वा कस्तो पेशा अपनाउने इच्छा छ भन्ने प्रश्नमा पनि यस्तै प्रवृत्ति देखियो । धेरैजसो जापानी उत्तरदाताहरूले “खास कुनै छैन” भन्ने जवाफ दिएका थिए।
अन्य देशको तुलनामा, जापानका धेरै मानिसहरूले आफ्नो राष्ट्रियता, लिङ्ग, यौनिक झुकाव र अपाङ्गताका कारण आफ्नो सफलताको अवसर सीमित भएको महसुस गर्ने गरेको पनि सर्वेक्षणले देखाएको छ।
विवाह गर्ने र सन्तान जन्माउने इच्छामा पनि जापान सबैभन्दा पछाडि छ। जापानमा लगभग ५९ प्रतिशत युवाहरुले मात्र यसलाई उपयुक्त मानेका छन्, जबकि चीन ६२ र दक्षिण कोरिया ६४ प्रतिशत छन् । बेलायतमा यो दर सबैभन्दा बढी ७३ प्रतिशत देखिएको छ।
तीनवटा पूर्वी एसियाली देशहरू (जापान, चीन र दक्षिण कोरिया)का उत्तरदाताहरूले घट्दो जनसंख्या र बुढ्यौली समाजलाई आफ्नो देशको सबैभन्दा ठूलो समस्याको रूपमा औंल्याएका छन् ।
युकाना इनौए, जापानटाइम्स




प्रतिक्रिया राख्नुहोस्