रशिद खानको अर्धशतक र करण केसीको विस्फोटक ब्याटिङमा राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो खेलमा काठमाण्डु गोर्खाजको पहिलो जित दर्ता गरेको छ । सोमबारको पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै काठमाण्डुले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो । कर्णालीका लागि ओपनर अरिफुल इस्लामले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन बनाए भने हुसेन तललते ३० बलमा १ चौका र २ छक्काको मद्दतमा ४० रन बनाए ।
त्यस्तै पवन सर्राफले २३ बलमा २ छक्काको सहयोगमा अविजित ३० रनमा अविजित रहँदा गुल्सन झाले १२ बलका २ छक्का प्रहार गर्दै २० रनको योगदान गरे । काठमाण्डुका लागि कप्तान करण केसीले दुई विकट लिए बने तथा शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवको भागमा समान एक-एक विकेट रह्यो ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य लिएर मैदान उत्रेको काठमाण्डुले ओभरमा विकेट गुमाउँदै पूरा गर्यो । उसको लागि राशिद खानले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५० रनकोअर्धशतकीय पारी खेले भने कप्तान करण केसीले २० बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४४ रन बनाए । यस्तै जहानन्द खानले १० बलमा १ चौका र २ छक्काको सहयोगमा २२ रनमा अविजित रहँदा मोहम्मद आदील आलमले २० र डेभिड वार्नरले १६ रन जोडे ।
कर्णालीको लागि सोमपाल कामी र हुसेन तलतले समान दुई-दुई विकेट लिए भने मार्क वाट र नन्दन यादवको भागमा समान एक-एक विकेट रह्यो । प्रतियोगितामा कर्णालीको यो तेस्रो खेल खेलमा पहिलो हार हो भने काठमाण्डुको भने दोस्रो खेलमा पहिलो जित हो । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो ।
यता करण केसीको कप्तानीमा रहेको काठमाण्डु पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो । कर्णाली तीन खेलमा दुई खेलमा विजयी हुँदै चार अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ भने दुई खेलमा दुई अंक जोडेको काठमाण्डु छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज बेलुकी ५:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन् ।




प्रतिक्रिया राख्नुहोस्