कर्पोरेट/पर्यटन

पोखरा चिनाउँदै विदेशी ‘कन्टेन्ट क्रिएटर’

अन्तरराष्ट्रियस्तरमा पर्यटकीय सहर पोखरालाई चिनाउन विभिन्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता ‘ट्राभल कन्टेन्ट क्रिएटर’ यतिबेला पोखरामा छन् ।

‘प्रकृति, संस्कृति र साहस’ मा आधारित यहाँका पर्यटकीय गन्तव्यलाई सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट विश्व पर्यटन बजारमा प्रवर्द्धनका लागि उनीहरु पोखरा आएका हुन् ।

नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा पोखरा आएका कन्टेन्ट क्रिएटरले यहाँका विभिन्न गन्तव्यमा पुगी भिडियो सामग्री निर्माण गरिरहेको बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका कन्टेन्ट क्रिएटर पोखरा आएको उहाँको भनाइ छ ।

“ट्राभल कन्टेन्ट क्रिएटरले पहिलो चरणमा पोखरा, चितवन र बर्दियाको प्रवद्र्धनात्मक भिडियो सामग्री निर्माण गरी टिकटिकलगायत सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्नेछन्।”

बोर्डका कार्यकारी सदस्य पोखरेलले भन्नुभयो, “यो अभियान वर्षभरि नै सञ्चालन हुन्छ, अन्य देशका प्रभावशाली कन्टेन्ट क्रियटरलाई पनि नेपालको भ्रमण गराएर विश्वमाझ नेपालको पर्यटन प्रवद्र्धन गर्ने बोर्डको योजना छ ।”

पोखरा आएका कन्टेन्ट क्रियटल शनिबार साँझदेखि यहाँका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका गन्तव्यको स्थलगत भ्रमण गरिरहेको उहाँले बताउनुभयो ।

उनीहरुले फेवाताल, पातले छाँगो (डेभिज फल्स), विश्व शान्ति स्तूपा, पुम्दीकोट, कास्कीकोट, सराङकोट, बेगनास ताललगायतका गन्तव्यस्थलमा पुगी भिडियो सामग्री तयार गर्नेछन् ।

यहाँको प्राकृतिक सौन्दर्य, मौलिक कला, संस्कृति, साहसिक गतिविधि र स्थानीय जीवनशैलीलाई समेटेर निर्माण गरिएका भिडियो सामग्रीले पोखरा मात्र नभएर सिङ्गो देशकै पर्यटन प्रवर्द्धन हुने बोर्डका कार्यकारी सदस्य पोखरेलले बताउनुभयो ।

चर्चित कन्टेन्ट क्रियटरको टिकटकलगायत सामाजिक सञ्जालका माध्यमबाट पोखराको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न सकिने हुँदा बोर्डको अभियान प्रभावकारी हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताउनुभयो ।

“धेरै फलओर्स भएका कन्टेन्ट क्रिएटरले टिकटिकबाट पोखराको भिडियो राख्दा त्यो विश्वभरका लाखौँ दशर्कमाझ पुग्न सक्छ”, उहाँले भन्नुभयो, “गन्तव्य प्रवर्द्धनका लागि सामाजिक सञ्जालमा राखिने छोटो भिडियो सामग्री पछिल्लो धेरै प्रभावकारी देखिएको छ ।” (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.