अमेरिकालाई इरानको सन्देश : माग पूरा गर, दुई दिनमै होर्मुज खुलाउँछौँ
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाले इरानका ‘वैधानिक’ माग पूरा गरे दुई दिनभित्रै होर्मुज जलडमरूमध्य पुनः खुलाउन सम्भव हुने बताउनुभएको छ।
तेहरानमा सोमबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता बगाईले मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच हुने कुनै पनि अप्रत्यक्ष संवादको आधार गत सेप्टेम्बरमा तेहरानले प्रस्ताव गरेको सातदिने योजना रहेको बताउनुभयो। इरानले सद्भावका आधारमा उक्त योजना कार्यान्वयन गर्ने अवधि घटाएर दुई दिनमा सीमित गरेको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “हामीले इरानका माग पूरा भए छोटो समयमै होर्मुज जलडमरूमध्यमा सुरक्षा पुनःस्थापना गर्न र वार्ता प्रक्रिया सुरु गर्न सकिने सम्भावना रहेको स्पष्ट पारिसकेका छौँ।” यस विषयमा अबको प्रक्रिया कसरी अघि बढाउने भन्ने निर्णय अमेरिकी पक्षमा निर्भर रहने उहाँले बताउनुभयो।
बगाईले इरानले आफ्ना माग स्पष्ट, व्यावहारिक र तार्किक ढङ्गले प्रस्तुत गरिसकेको उल्लेख गर्नुभयो। अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी अन्त्य नगरेसम्म र तेहरानका ‘वैधानिक’ माग सम्बोधन नगरेसम्म कुनै सम्झौता हुन नसक्ने उहाँको भनाइ थियो। त्यसो नभएसम्म होर्मुज जलडमरूमध्य पुनः खुला गरिने वा त्यहाँ सुरक्षा सुनिश्चित गरिने अवस्था नरहने उहाँले स्पष्ट पार्नुभयो।
इरानले युद्ध अन्त्य गर्ने र होर्मुज जलडमरूमध्य पुनः खुला गर्ने सर्तसहितको सातदिने योजना सेप्टेम्बर २२ मा अमेरिकासमक्ष प्रस्तुत गरेको थियो।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा अमेरिकालाई मध्यस्थकर्तामार्फत उक्त योजना बुझाइएको थियो। त्यसयता तेहरान र वासिङ्टनबीच प्रस्तावका विषयमा सन्देश आदानप्रदान जारी रहेको बताइएको छ। रासस सिन्ह्वा




प्रतिक्रिया राख्नुहोस्