जन सरोकार

प्लास्टिकका फूलमालामा रोक, प्राकृतिक फूल बिक्रीका लागि २६ स्थान तोकिए

काठमाडौँ महानगरपालिकाले तिहारका लागि प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा रोक लगाउँदै प्राकृतिक फूलमाला विक्रीका लागि २६ स्थान तोकेको छ ।

त्यस्ता सामग्री बिक्री गरेको पाइएमा जफत गरिने चेतावनी पनि महानगरले दिएको छ । नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाको बिक्रीवितरणका लागि महानगरपालिकाले २६ स्थान तोकेको हो ।

ती स्थानमा बानेश्वर, शङ्खमूल, चाबहिल, तीनकुने, सिफल, बत्तीसपुतली, स्वयम्भू, कालीमाटी, कललङ्की, नयाँ बजार, माछापोखरी, हाँडीगाउँ, सामाखुसी, महाराजगञ्ज, गोँगबु, चप्पल कारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, टेवहाल, सुन्धारा, न्यूरोड, लगन, जैसीदेवल र भृकुटीमण्डप रहेका छन् ।

महानगरपालिकाले आज सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्रीवितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

महानगरपालिकाले तोकिएका स्थानमा नेपाली किसानले उत्पादन गरेका फूलमाला बिक्री गर्न व्यवसायीलाई आग्रह गरेको छ । बिक्री व्यवस्थापन तथा सहजीकरणका लागि महानगर प्रहरी बल परिचालन गरिने सूचनामा उल्लेख छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.