जन सरोकार

चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा ।

तीन वर्ष मलेसियामा बिताउनुभएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुख्र्यौली पेसालाई व्यावसायिक बनाउने निर्णय गर्नुभयो ।

हजुरबुबा र बुबाको पालादेखि हुँदै आएको चौँरीपालनलाई निरन्तरता दिने सोचसहित उहाँले  परिवारको भागमा परेका १० वटा चौँरीबाट व्यवसाय सुरु गर्नुभयो ।

विदेशबाट फर्किएको निर्णयलाई सही साबित गर्न उहाँलाई धेरै समय लागेन । विगत ११ वर्षदेखि निरन्तर चौँरीपालनमा लाग्नुभएका पासाङसँग अहिले करिब रु ४५ लाख बराबरका ६० वटा चौँरी छन् । उहाँले  उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थ काठमाडौँस्थित दुग्ध विकास संस्थान (डिडिसी) मा बिक्री हुँदै आएको छ ।

पासाङका अनुसार चौँरीले वर्षमा छ महिना मात्र दूध दिन्छन । दूध दिने अवधिमा करिब रु ११ लाख बराबरको कारोबार हुन्छ । अन्य छ महिना चौँरी चरन क्षेत्रमा घाँस खाएर बस्छन् । वार्षिक खर्च कटाएर करिब रु पाँच लाख खुद आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

गोसाइँकुण्ड गाउँपालिकाबाट तीन वर्षअघि प्राप्त रु सात लाख अनुदानले व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्न सहयोग पुगेको पासाङको भनाइ छ । आफ्नै मेहनतले चौँरी फार्मलाई रु ४५ लाख बराबरको सम्पत्तिमा रूपान्तरण गर्न सफल उहाँ पुख्र्यौली पेसालाई नयाँ पुस्तासम्म पुर्याउन चाहनुहुन्छ ।

“अरूको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा दुःख गरेअनुसारको प्रतिफल पाइन्छ,” पासाङ भन्नुहुन्छ, “हाम्रा पुर्खाहरू दुःखमा परेका कारण हामीले धेरै पढ्न पाएनौँ, तर आज अनुभवकै बलमा यहाँसम्म आइपुगेका छौँ ।”

हजुरबुबाको पालादेखि चल्दै आएको चौँरीपालनलाई उहाँ नयाँ पुस्ताका लागि पनि प्रेरणाको स्रोत मान्नुहुन्छ । त्यसैले व्यवसायलाई थप व्यवस्थित बनाउन नागुङमा १३ रोपनी जग्गामा चौँरीका लागि गोठ निर्माण गर्नुभएको छ ।

विदेश जान युवाको लर्को लागिरहेका बेला पासाङले गाउँमै गरेको यो मेहनतले स्थानीयस्तरमा रोजगारी र आम्दानीको सम्भावना देखाएको छ । परम्परागत पेसालाई व्यावसायिक रूप दिन सके गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उहाँको सफलताले पुष्टि गरेको छ ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ पासाङको मेहनत र लगनशीलताको प्रशंसा गर्नुहुन्छ । उहाँका अनुसार पासाङ गाउँपालिकाकै उदाहरणीय र नमूना किसान हुनुहुन्छ ।

त्यस्तै, वडा नं ६ का वडाध्यक्ष कर्मा दावा सिदार वाइबा पनि पासाङको व्यावसायिक सफलताले गाउँका अन्य युवालाई आफ्नै ठाउँमा उद्यम गर्न प्रेरित गरेको बताउनुहुन्छ । “विदेशी भूमिमा पसिना बगाउनुभन्दा स्वदेशमै यस्ता व्यवसाय गर्न सके गाउँघर खाली हुने अवस्था आउने थिएन,” उहाँ भन्नुहुन्छ ।

परिवारको पुख्र्यौली पेसालाई व्यावसायिक रूप दिँदै पासाङले देखाएको सफलताले गाउँमै सम्भावना खोज्ने हो भने विदेशिनु नै एकमात्र विकल्प होइन भन्ने सन्देश दिएको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.