सार्वजनिक प्रदर्शनमा मानव अधिकार संरक्षण सरकारको प्राथमिकता : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको कार्यालयको आयोजनामा यही कात्तिक १७ देखि १९ गतेसम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ‘शान्तिपूर्ण प्रदर्शन र मानवअधिकारको संरक्षण’सम्बन्धी कार्यशालाको बिहीबार समापन गर्दै गृहमन्त्री गुरुङले बल प्रयोग गर्दा आवश्यकता र जवाफदेहिताको सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो ।
गृहमन्त्री गुरुङले शान्ति सुव्यवस्था कायम गर्न भीडमा बल प्रयोगभन्दा उचित सञ्चार, समन्वय र संस्थागत सुधारमा जोड दिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभयो ।
शान्तिपूर्ण प्रदर्शन व्यवस्थापनका क्रममा मानव अधिकारको सम्मान, संरक्षण तथा प्रवर्द्धन गर्दै प्रहरीको व्यावसायिक भूमिका प्रभावकारी बनाउने उद्देश्यले आयोजित सो कार्यशालामा गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका अधिकृतलगायतको सहभागिता थियो ।
कार्यशालाले सहभागीलाई आफ्नो अधिकार, जिम्मेवारी र कार्यविधिको पुनरावलोकन तथा अद्यावधिक गर्ने अवसर दिएको गृह मन्त्रालयले जनाएको छ ।
बल प्रयोगका अन्तरराष्ट्रिय मापदण्ड, संवाद, समन्वय, परिचालन योजना र नेतृत्वको जवाफदेहिताजस्ता विषयमा प्राप्त ज्ञान तथा सीपले नेपालमा व्यावसायिक, संयमित र जवाफदेही प्रहरी अभ्यास विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।(रासस)




प्रतिक्रिया राख्नुहोस्