जन सरोकार

घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

तिहार भन्ने बित्तिकै देउसी–भैलो, गीतसङ्गीत र रमाइलोको पर्व भन्ने बुझिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक बनाउँछ । मादलको घिन्ताङ घिन्ताङ आवाजमा देउसी–भैलो खेल्नेहरूको उत्साह झनै बढ्छ । तर, तिहारको रौनकसँग अभिन्न रूपमा जोडिएको मादल अहिले क्रमशः ओझेलमा पर्दै गएको छ ।

तिहार नजिकिएसँगै मादलको माग बढ्ने र मादल बनाउने व्यवसायीलाई भ्याइनभ्याई चलन हो । तर, समयसँगै मनोरञ्जनका माध्यम र नागरिकको रुचि परिवर्तन हुँदै जाँदा मादलको प्रयोग घट्न थालेको छ । यसको असर मादल बनाउने परम्परागत सीप भएका व्यवसायीमा प्रत्यक्ष रुपमा परेको छ ।

धनकुटा नगरपालिका–१, गैरी टोलका छविलाल सार्की विगतका वर्षहरूमा तिहार आउनुभन्दा करिब एक महिनाअघिदेखि मादल बनाउन व्यस्त हुने गर्नुहुन्थ्यो । तिहारको समयमा उहाँ अन्य काम छाडेर मादल निर्माणमा जुट्नुहुन्थ्यो ।

वर्षौँदेखि मादल बनाउने सीपलाई आफ्नो पेसा बनाउँदै आउनुभएका सार्कीलाई यतिबेला पनि मादल बनाउन भ्याइनभ्याई हुनुपर्ने हो । तर, विगतका वर्षहरूको तुलनामा अहिले मादलको माग निकै कम आएपछि उहाँ फुर्सदिलो बन्नुभएको छ ।

पहिले चाडपर्व, मेला, महोत्सव र सांस्कृतिक कार्यक्रमका समयमा मादलको माग बढी हुने गथ्र्यो । विशेषगरी तिहारमा देउसी–भैलो खेल्ने समूहले मादल किन्ने र पुराना मादल मर्मत गराउने भएकाले मादल बनाउनेहरूलाई कामको चाप हुने गथ्र्यो ।

अहिले भने त्यस्तो अवस्था नरहेको सार्कीको अनुभव छ । यो वर्ष उहाँले केही पुराना मादलमा खरी लगाउनेबाहेक नयाँ मादल बनाउनुभएको छैन । सीमित व्यक्तिबाट नयाँ मादलको माग आएको भए पनि झन्झटिलो प्रक्रिया र उमेरका कारण सार्कीले नयाँ मादल बनाउने काम गर्नुभएको छैन ।

मेहनत धेरै, आम्दानीको सुनिश्चितता कम

मादल निर्माण गर्नु सामान्य काम होइन । एउटा मादल तयार पार्न काठ छनोट गर्नेदेखि त्यसलाई आवश्यक आकारमा ढाल्ने, भित्र खोक्रो बनाउने, छाला तयार पार्ने, तन्काउने र खरी लगाउनेसम्मका विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । यसका लागि सीप, धैर्य र लामो अनुभव आवश्यक हुन्छ ।

मादल बनाउन खमारी, लामपाटो, सिरीस र खिर्रोजस्ता काठ प्रयोग गरिन्छ । मादलको गुणस्तर र आवाजमा काठको महत्त्वपूर्ण भूमिका हुने भएकाले काठ छनोट गर्दा विशेष ध्यान दिनुपर्ने सार्कीको भनाइ छ । काठलाई आवश्यक आकारमा काटेर भित्रबाट खोक्रो बनाई ढुङ्ग्रो तयार पार्नु मादल निर्माणको कठिन काममध्ये एक भएको उहाँले बताउनुभयो ।

त्यसपछि मादलको दुवैतर्फ बाख्रा, भैँसी वा गोरुको छाला प्रयोग गरिन्छ । छालालाई आवश्यक आकारमा तयार पारेर काठको ढुङ्ग्रोमा कसिलोसँग तन्काउनुपर्छ । मादलको आवाज राम्रो बनाउन छालाको तन्काइ र खरी लगाउने प्रक्रियामा विशेष सीप चाहिने उहाँको भनाइ छ ।

मादलको आकारअनुसार एउटा तयार गर्न तीनदेखि सात दिनसम्म लाग्ने गरेको छ । निर्माणमा लाग्ने समय, श्रम र प्रयोग हुने सामग्रीका आधारमा एउटा मादलको मूल्य रु पाँच हजारदेखि रु १५ हजारसम्म पर्ने गरेको छ । मादल बनाउन प्रयोग हुने कच्चा पदार्थ जुटाउन पनि सहज छैन ।

विशेषगरी छाला भारतबाट ल्याउनुपर्ने अवस्था छ । काठको ढुङ्ग्रो तयार पार्नेदेखि छाला तन्काउने र खरी लगाउनेसम्मका काममा धेरै मेहनत गर्नुपर्ने भएकाले मादल निर्माण चुनौतीपूर्ण पेसा बन्दै गएको सार्कीको भनाइ छ ।

लामो समय खर्चिएर तयार पारिएको मादल बिक्री हुने सुनिश्चितता नहुँदा व्यवसायीहरू थप समस्यामा पर्ने गरेका छन् । मादलको माग घट्दै जाने र निर्माणमा लाग्ने लागत तथा श्रम बढी हुने अवस्थाले यो पेसालाई निरन्तरता दिन कठिन बनाउँदै लगेको सार्कीले बताउनुभयो ।

आधुनिकताले ओझेलमा पर्दै मौलिक बाजा

समय परिवर्तनसँगै नागरिकको जीवनशैली र मनोरञ्जन गर्ने तरिकामा पनि परिवर्तन आएको छ । पहिले गाउँघरमा हुने सांस्कृतिक कार्यक्रम, चाडपर्व र जमघटमा मादल मुख्य बाजाका रूपमा प्रयोग हुन्थ्यो ।

लोकगीत गाउन होस् वा देउसी–भैलो खेल्न, मादलको ताल अनिवार्यजस्तै मानिन्थ्यो । तर, अहिले प्रविधिको विकाससँगै मनोरञ्जनका नयाँ माध्यम भित्रिएपछि मादलको माग घटेको छ ।

मोबाइल फोन, इन्टरनेट, विद्युतीय बाजा र रेकर्ड गरिएका गीतसङ्गीतको प्रयोग बढेपछि मादलको माग घटेको हो । देउसी–भैलो तथा अन्य सांस्कृतिक कार्यक्रममा समेत आधुनिक ध्वनि प्रणाली र विभिन्न विद्युतीय बाजाको प्रयोग हुन थालेको छ । यसले परम्परागत बाजा मादलको प्रयोगलाई क्रमशः सीमित बनाउँदै लगेको छ ।

पहिले घरघरमा मादल बजाउने मानिस भेटिन्थे । बालबालिकादेखि वृद्धवृद्धासम्म मादलको तालमा रमाउने गर्थे । गाउँघरका युवाहरूले मादल बजाउन सिक्ने र लोकगीतसँगै यसको प्रयोग गर्ने चलन थियो ।

अहिले भने नयाँ पुस्ताको आकर्षण आधुनिक सङ्गीत र प्रविधितर्फ बढ्दै गएपछि मादल बजाउने र यसको निर्माण गर्ने सीप सिक्ने पुस्ता घट्दै जान थालेको छ ।

सीप हराउने चिन्ता

मादल केवल एउटा बाजा मात्र होइन, यो नेपाली लोकसंस्कृति, परम्परा र मौलिक पहिचानको महत्त्वपूर्ण हिस्सा पनि हो । यसको तालमा नेपाली समाजको जीवनशैली, खुसी, उत्सव र सांस्कृतिक विरासत जोडिएको गीतकार रमेशचन्द्र अधिकारीले बताउनुभयो ।

गाउँघरका मेलापात, विवाह, व्रतबन्ध, चाडपर्व, जात्रा तथा विभिन्न सांस्कृतिक कार्यक्रममा मादलको आफ्नै स्थान रहँदै आएको उहाँको भनाइ छ ।

मादल बनाउने सीप लामो अभ्यास र अनुभवबाट प्राप्त हुने भएकाले यसको पुस्तान्तरण हुन नसके भविष्यमा दक्ष मादल निर्माता पाउनसमेत कठिन हुने अधिकारीले बताउनुभयो । मादलको माग घट्दै गएकोमा सङ्गीतका पारखी र मादल बनाउने व्यवसायीहरू चिन्तित छन् ।

परम्परागत बाजाको प्रयोगलाई निरन्तरता दिन नसकिए नेपाली मौलिक सङ्गीतको एउटा महत्त्वपूर्ण पहिचान कमजोर बन्ने उनीहरूको चिन्ता छ । आधुनिक प्रविधि र मनोरञ्जनका नयाँ माध्यमलाई अस्वीकार गर्न नसकिए पनि आधुनिकताका नाममा आफ्नै मौलिक कला, संस्कृति र परम्परागत सीपलाई बिर्सनु उचित नहुने उनीहरुको बुझाइ छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.