सञ्चार प्रणालीमा अवरोधपछि अमेरिकाभर उडान अबरोध, चार घण्टापछि प्रतिबन्ध हटाइयो
अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले एयर ट्राफिक कन्ट्रोलका सञ्चार प्रणालीमा प्राविधिक समस्या देखिएपछि शुक्रबार देशभरका विमानस्थलबाट हुने उडान रोकेको छ।
न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल
एफएएले अमेरिकी समयअनुसार शुक्रबार अपराह्न ३ बजेर ५४ मिनेट (नेपाली समय शनिबार बिहान २:३९) देखि देशभरका विमानस्थलमा उडान रोक्न निर्देशन दिएको थियो।
सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म सबै विमानस्थलबाट प्रस्थान गर्ने उडान रोक्न निर्देशन दिइएको थियो। करिब चार घण्टा २१ मिनेटपछि प्रतिबन्ध हटाइए पनि हजारौँ उडान रद्द तथा ढिलाइ हुँदा देशको हवाई सेवा अस्तव्यस्त बनेको छ।
एफएएले शुक्रबार राति ८ बजेर १५ मिनेट (अमेरिकी पूर्वी समय) मा प्रतिबन्ध हटाएको हो। नेपाली समयअनुसार शनिबार बिहान ७ बजे प्रतिबन्ध हटाइएको थियो। प्रतिबन्ध हटेसँगै आन्तरिक उडान पुनः सञ्चालन गर्न अनुमति दिइए पनि उडान तालिका सामान्य अवस्थामा फर्किन समय लाग्ने अधिकारीहरूले बताएका छन्।
अमेरिकी यातायातमन्त्री सिन डफीका अनुसार देशभरका विमानस्थलबीच उडान सञ्चालनको समन्वय गर्ने एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा सञ्चारसम्बन्धी समस्या देखिएको थियो। एफएएका प्राविधिक टोलीले समस्या पहिचान र समाधानका लागि काम गरिरहेको उनले बताएका थिए।
गृहमन्त्री मार्कवेन मुलिनले समस्या दूरसञ्चार प्रणालीमा आएको अवरोधका कारण उत्पन्न भएको बताउँदै तत्कालै समाधान हुने अवस्था नरहेको जानकारी दिएका थिए। उनले अहिलेसम्म आतंकवादी आक्रमण वा नियोजित साइबर आक्रमण भएको कुनै प्रमाण नभेटिएको पनि बताएका थिए। यद्यपि, घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्।
यातायातमन्त्री डफीले अमेरिकी हवाई यातायात व्यवस्थापन प्रणालीमा दशकौँ पुरानो प्रविधि प्रयोग भइरहेकाले समस्या उत्पन्न भएको बताएका छन्। उनका अनुसार पुराना स्विच, राउटर र सन् १९८० को दशकका तामाका तारमा आधारित सञ्चार पूर्वाधारमा अत्यधिक भार पर्दा प्रणाली प्रभावित भएको हो। यसले अमेरिकी हवाई यातायात व्यवस्थापनको पुरानो पूर्वाधारलाई आधुनिक बनाउने आवश्यकता पुनः उजागर गरेको छ।
एसोसिएटेड प्रेसका अनुसार प्रतिबन्ध लागू हुँदा करिब तीन हजार पाँच सय विमान आकाशमा थिए। ती विमानलाई सुरक्षित रूपमा अवतरण गराइएको थियो। प्रतिबन्धका कारण कम्तीमा ६०० उडान आफ्नो निर्धारित गन्तव्यमा पुग्न नसकी अन्य विमानस्थलतर्फ मोडिएका थिए। त्यस्तै, दिउँसो ४ बजेपछि अमेरिकाका विमानस्थलबाट करिब ११ हजार उडान प्रस्थान गर्ने तालिका थियो, जसबाट १५ लाखभन्दा बढी यात्रु प्रभावित हुन सक्ने अनुमान गरिएको थियो।
उडान रोकिएको अवधिमा यात्रुहरू विभिन्न विमानस्थलमा अलपत्र परेका थिए। कतिपय विमान धावनमार्गतर्फ जाने क्रममा रोकिएका थिए भने केही विमानमा चढिसकेका यात्रुलाई पुनः टर्मिनलमा फर्काइएको थियो। उडान रद्द भएपछि यात्रुहरूले टिकट पुनः बुक गर्न र वैकल्पिक व्यवस्था खोज्नुपरेको थियो।
उडान ट्र्याकिङसम्बन्धी तथ्याङ्कअनुसार शुक्रबार रातिसम्म करिब पाँच हजार उडान रद्द भएका थिए। हजारौँ उडान ढिलाइमा परेका थिए। सीएनएनले डेटा कम्पनी सिरियमको विश्लेषण उद्धृत गर्दै करिब १५ लाख यात्रु प्रभावित भएको जनाएको छ।
प्रतिबन्ध हटेपछि पनि विमानस्थलमा विमान र यात्रुको चाप, चालक दलको कार्यसमय सीमा तथा उडान तालिका मिलाउनुपर्ने भएकाले शनिबारसम्म पनि अवरोध कायम रहन सक्ने अधिकारीहरूले बताएका छन्।
अमेरिकाका प्रमुख एयरलाइन्सहरूले पनि उडान सञ्चालनमा समस्या जारी रहने चेतावनी दिएका छन्। जेटब्लुले शुक्रबार रातिका बाँकी अधिकांश आन्तरिक उडान रद्द गरेको जनाएको छ।
एयर क्यानडाले पनि शुक्रबार साँझ अमेरिकाबाट आउने र अमेरिकातर्फ जाने उडान रद्द गरेको थियो। अन्य एयरलाइन्सले यात्रुलाई विमानस्थल जानुअघि आफ्नो उडानको पछिल्लो अवस्था जाँच गर्न आग्रह गरेका छन्।
अमेरिकाबाट अन्तर्राष्ट्रिय गन्तव्यतर्फ जाने उडानमा पनि असर परेको थियो। एफएएले अन्तर्राष्ट्रिय उडानबाट आउने विमानलाई परिस्थितिअनुसार व्यवस्थापन गर्ने जनाएको थियो।
युरोपेली हवाई यातायात व्यवस्थापन निकायले पनि एफएएको अनुरोधपछि शुक्रबार साँझ अमेरिकी गन्तव्यतर्फ जाने उडानमा अस्थायी रोक लगाएको थियो। क्यानडा र मेक्सिकोबाट अमेरिकातर्फ जाने उडानसमेत प्रभावित भएका थिए।
पुरानो पूर्वाधारमाथि प्रश्न
शुक्रबारको अवरोधले अमेरिकी हवाई यातायात व्यवस्थापन प्रणालीको प्रविधिगत कमजोरीलाई पुनः चर्चामा ल्याएको छ। यातायातमन्त्री डफीले पुरानो सञ्चार पूर्वाधारमा अत्यधिक भार पर्दा समस्या फैलिएको बताउँदै प्रणालीलाई आधुनिक बनाउन थप लगानी आवश्यक रहेको बताएका छन्। उनले यसका लागि अमेरिकी संसद्सँग थप बजेट उपलब्ध गराउन आग्रह गरेका छन्।
यसअघि सन् २०२३ जनवरीमा एफएएको विमानचालक तथा विमानस्थललाई उडान सुरक्षासम्बन्धी सूचना दिने कम्प्युटर प्रणालीमा समस्या आएपछि देशभरका आन्तरिक उडान रोक्नुपरेको थियो।
त्यतिबेला करिब ९० मिनेटपछि उडान सञ्चालन पुनः सुरु भएको थियो। सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि पनि अमेरिकाभरका उडान रोकिएका थिए। यस अर्थमा शुक्रबारको घटना सन् २००१ र २०२३ पछिको तेस्रो देशव्यापी उडान रोक्ने घटना हो।
यसैबीच, एफएएले हालै लागू गर्न थालेको कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित नयाँ हवाई क्षेत्र व्यवस्थापन प्रणालीसँग शुक्रबारको अवरोधको सम्बन्ध रहेको प्रमाण नदेखिएको अधिकारीहरूले बताएका छन्।
उक्त प्रणाली विकास गर्ने कम्पनीले पनि नयाँ प्रणालीका कारण समस्या उत्पन्न नभएको स्पष्ट पारेको छ। माइक्रोसफ्टले समेत बिहीबार देखिएको आफ्नो सेवा अवरोधसँग एफएएको समस्या सम्बन्धित रहेको कुनै संकेत नभेटिएको जनाएको छ।
शुक्रबारको घटनाले अमेरिकी हवाई यातायातको ठूलो हिस्सा अझै पुरानो सञ्चार प्रविधिमा निर्भर रहेको तथ्य उजागर गरेको छ। प्रतिबन्ध हटे पनि उडान तालिका पूर्ण रूपमा सामान्य हुन समय लाग्ने भएकाले यात्रुलाई सम्बन्धित एयरलाइन्सबाट पछिल्लो जानकारी लिएर मात्र विमानस्थल जान आग्रह गरिएको छ।
समाचार र तस्वीर स्रोत : खसोखास खबर न्यूयोर्क




प्रतिक्रिया राख्नुहोस्