संस्कृति

छठको दोस्रो दिन आज खरना गरिँदै, गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

कार्तिक शुक्ल पञ्चमीका दिनमा आज छठका व्रतालु निर्जल उपवास बसी ‘खरना’ को विधि पूरा गर्दैछन् । निर्जल उपवास बसेका व्रतालुले आज बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाना खान्छन् ।

सोही विधिलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले बताउनुभयो ।

पञ्चमीका दिन आज राजधानीमा छठ मनाइने गुह्येश्वरी, गौरीघाट क्षेत्र, वाग्मती नदी किनारको थापाथली, टेकु, वंशीघाट र कमलपोखरीमा विशेष चहलपहल बढेको छ ।

गुह्येश्वरी, गौरीघाट क्षेत्रमा आइतबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य चढाउन ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल बनाइएको उहाँले जानकारी दिनुभयो ।

तीमध्ये ३० वटा घाट भने नि:शुल्क दिइने छ । बाँकी घाट लिन चाहनेले रु एक हजार ५०० शुल्क बुझाउनुपर्ने समितिका उपाध्यक्ष राजकुमार पोद्दारले राससलाई जानकारी दिनुभयो ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर गुह्येश्वरी, गौरीघाट क्षेत्रको वाग्मती नदी क्षेत्र सम्याउने, सरसफाइलगायत काम सकी छठको तयारी अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो ।

कार्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु हुने छठ पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन हुन्छ । यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु भएको छठ पर्वको व्रत विधि कात्तिक ३० गते सोमबार सकिन्छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.