जन सरोकार

सम्पदा चोरी नियन्त्रण र हराएका वस्तु फिर्ता ल्याउन कामपाको पहल

काठमाडौँ महानगरपालिकाले सांस्कृतिक सम्पदाको चोरी, क्षति तथा अवैध ओसारपसार नियन्त्रण गरी हराएका प्राचीन वस्तु फिर्ता ल्याउन नमुना फाउन्डेसनसँग सहकार्य थालेको छ ।

सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण तथा चोरी भएका वस्तुको पुनःप्राप्तिका लागि महानगरपालिकाले फाउन्डेसनसँग समझदारी गरेको हो ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले समुदायको क्षमता विकास र चेतना अभिवृद्धिमार्फत काठमाडौँको सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले सहभागितामूलक कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

समझदारीअनुसार महानगर क्षेत्रभित्रका सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण, जीर्णोद्धार, मर्मतसम्भार, अभिलेखीकरण र सुरक्षा प्रवद्र्धनका काम गरिनेछ ।

सम्पदा क्षेत्रका मूर्ति, कलाकृति तथा अन्य प्राचीन वस्तुको चोरी र अवैध ओसारपसार रोक्नुका साथै हराएका वस्तुको पहिचान र पुनःप्राप्तिका लागि पहल गरिनेछ ।

कार्यवाहक प्रमुख डङ्गोलले यसअघि विभिन्न निकायबाट छरिएर भइरहेका सम्पदा संरक्षणका कामलाई एकीकृत गरी महानगरपालिकाको नेतृत्वमा अघि बढाउन समझदारी गरिएको बताउनुभयो ।

उहाँले जनप्रतिनिधि, कर्मचारी, सम्पदा क्षेत्रमा कार्यरत जनशक्ति र समुदायलाई सम्पदाको पहिचान तथा संरक्षणप्रति सचेत बनाउने कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले समझदारीपछि सहभागितामूलक कार्यक्रम सञ्चालनका लागि संस्थागत तथा कानुनी आधार तयार भएको बताउनुभयो ।

सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले काठमाडौँलाई खुला सङ्ग्राहालयका रूपमा चिनाउने ऐतिहासिक सम्पदाको पहिचान र संरक्षणमा महानगरपालिकाले नेतृत्व लिनुपर्ने बताउनुभयो । उहाँले सहरका गल्ली र चोकमा रहेका प्राचीन वस्तुको समेत अभिलेखीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नमुना फाउन्डेसनका अध्यक्ष रवीन्द्र पुरीले हराएका तथा चोरी भएका सांस्कृतिक वस्तु फिर्ता ल्याउने अभियान सन् २००३ देखि सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो पाँच वर्षमा ११८ वटा मूर्ति फिर्ता ल्याइएको छ ।

महानगरपालिकासँगको सहकार्यमा आगामी पाँच वर्षभित्र एक हजार प्राचीन वस्तु फिर्ता ल्याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.