इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गर्नुभएको छ ।
शनिबार पूर्वरेकर्ड गरिएको सम्बोधनमार्फत उहाँले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सक्रिय बनाउन खोजिरहेको आरोप लगाउँदै इजरायलको सुरक्षाका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नेतान्याहुले नयाँ सरकार गठनको जिम्मेवारी पाउनुभएका आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गाडी आइसेनकोटलाई कुनै पूर्वसर्त नराखी गठबन्धन निर्माणका लागि वार्ता सुरु गर्न आग्रह गर्नुभएको छ ।
“इजरायलको विनाश चाहने इरानी शासनले पुनः आफ्नो आणविक कार्यक्रम अघि बढाउन काम गरिरहेको छ । यस अस्तित्वगत खतरालाई सदाका लागि अन्त्य गर्नुपर्छ,” उहाँले सम्बोधनका क्रममा भन्नुभयो ।
राष्ट्रिय एकता सरकार गठन भए इजरायलको सुरक्षा आगामी वर्षसम्म सुनिश्चित गर्न सकिने र क्षेत्रीय शान्ति सम्झौतालाई थप विस्तार गर्न मद्दत पुग्ने नेतान्याहुको भनाइ छ ।
यसअघि बिहीबार नेतान्याहु र आइसेनकोटबीच सुरक्षा विषयमा छलफल भएको थियो ।
गत अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनपछि नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले संसद्मा बहुमत गुमाएको थियो । पूर्वसैनिक प्रमुखसमेत रहनुभएका आइसेनकोटलाई राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनका लागि २८ दिनको समय दिनुभएको छ । आवश्यक परे उक्त समय थप १४ दिन बढाउन सकिने व्यवस्था छ ।
नयाँ सरकार गठन भएर कार्यभार सम्हाल्नुअघि नेतान्याहु नै कामचलाउ प्रधानमन्त्रीका रूपमा पदमा रहनुहुनेछ । (रासस/सिन्ह्वा)




प्रतिक्रिया राख्नुहोस्