भाइरल हुने मोहले पर्यटकीय स्थलको प्रचार
सामाजिक सञ्जाल आज हरेकको अपरिहार्य आवश्यकता जस्तै बनेको छ । व्यक्तिगत जानकारी, सूचना प्रवाहमा यसको व्यापकता छ । यसैबाट अवैध र आपराधिक क्रियाकलाप पनि बढिरहको छ तापनि सकारात्मक कामहरुको नै बढोत्तरी छ ।

सामाजिक सञ्जालबाट भएका राम्रा र अनुकरणीय कामहरुको चाहिने जति प्रचार नभएर नकारात्मक तथा आपराधिक गतिविधिको बढी चर्चा भएकाले यसप्रति नराम्रो दृष्टिकोण राख्नेहरु पनि नभएका होइनन् । अहिले धर्म, संस्कृति, परम्परा, सम्पदा तथा प्राकृतिक स्थलहरुको प्रचार प्रसारमा पनि सामाजिक सञ्जाल उपयोगी सिद्ध भैरहेको छ
यसै क्रममा पछिल्लो समय बागलुङसहित अन्य जिल्लाका पर्यटकीय क्षेत्रको चर्चा हुनुमा सामाजिक सञ्जाल प्रमुख रहेको छ । टिकटक, फेसबुक, स्टाग्रामलगायत एप्सका कारण बागलुङ जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा ठूलै सहयोग भइरहेको छ ।
सामाजिक सञ्जालमा भाइरल हुने मोहले युवायुवतीलाई पर्यटकीयस्थलले आकर्षित गर्ने गरेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण पर्यटकबिहीन बनेका क्षेत्र अहिले क्रमशः पर्यटकले भरिभराउ हुन थालेका छन् । पछिल्लो समय आफ्नो परिचय बनाउँदै आएका डुडेलेक, बुद्धहिल, सहस्रधारा झरना, चमेरे गुफालगायतका स्थान सामाजिक सञ्जालकै कारण चिनिएका छन् ।
बागलुङको तमानखोला गाउँपालिका घर भई बागलुङ बजारमा बस्दै आउनुभएका रेश्मा बुढा मगरले बागलुङको बाङ्गेचौर र पाङ अदुवाबारी जोड्ने पुलमा बनाएको टिकटक धेरैले मन पराएको बताउनुभयो । मनोरञ्जनका लागि तथा सूचना समाचारसमेतका लागि फेसबुक र टिकटक प्रमुख स्रोत बन्दै गइरहेको समयमा धेरै पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि सामाजिक सञ्जाल प्रमुख रहेको पाइएको छ ।
“पोष्ट गरेपछि तत्कालै विश्वका मानिसले उक्त भिडियो हर्र्ने गर्दछन्, यो कहाँ छ, भनेर जिज्ञासा राखेका हुन्छन्”, उहाँले भन्नुभयो “आफ्नो भिडियो भाइरल बनाउनकै लागि टिकटकमा भिडियो बनाएर फेसबुकसमेतमा राख्ने गरेका छन्, जसकारण पर्यटक आउनेमा समेत वृद्धि हुने गरेको छ ।” कोरोना महामारीले सुस्ताएका धौलागिरीका धेरै पर्यटकीय क्षेत्रसमेत टिकटक र फेसबुकाका कारण चर्चामा आउन थालेका छन् ।
फेसबुकमा फोटो धेरै राख्दै आइएपनि टिकटमा भिडियो राख्ने हुनाले टिकटक प्रभावकारी बन्दै आएको टिकटक प्रयोगकर्ता राजन सुवेदीले बताउनुभयो । फेसबुक र टिकटकमा अभिनय मात्रै हैन, विभिन्न मनोरम प्राकृतिक दृश्य तथा पर्यटकीयस्थल, झरना खुबै रुचाउन थालेपछि टिकटक र फेसबुकमा नै हेरेर पर्यटकीय स्थलमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ ।
यससँगै टिकटक र फेसबुकको माध्यमबाट सुस्ताएका पर्यटकीय क्षेत्र, ग्रामीण बस्ती तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रको प्रचारप्रसारसँगै पर्यटकको आगमन वृद्धि गर्न पनि फाइदा पुगेको पर्यटन व्यवसायीले बताएका छन् । प्रतिभा प्रदर्शन गर्न, कलाकारिता, राजनीतिदेखि व्यक्तिगत समस्याका विषयमा सामाजिक सञ्जालमा राख्नासाथ भाइरल हुने गरेको छ । टिकटकमा भिडियोसमेत राख्नकै लागि पर्यटकीयस्थल भ्रमण गर्नेको सङ्ख्यामा समेत वृद्धि हुँदै आएको छ ।
पछिल्लो समय बागलुडसहित धौलागिरीका कयौँ पर्यटकीय क्षेत्रका भिडियो पनि यस एप्समार्फत भाइरल बनेका छन् । पछिल्लो समय बागलुङको पञ्चकोट, गाईघाट झरना, ढोरपाटन, शालीग्राम सङ्ग्रहालयलगायतका भिडियो भाइरल बनेपछि पर्यटक आउन थालेको स्थानीयवासीको भनाइ छ । सामाजिक सञ्जालमा अपलोड गरेका प्राकृति तथा पर्यटकीयस्थको चर्चासमेत देश विदेशमा हुने गरेको छ । अभिनयमात्रै नभई प्राकृतिक सौन्दर्यलाई भिडियोमा कैद गरी बनाएका टिकटकले पनि विभिन्न पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सघाएको बताइएको छ ।
गण्डकी प्रदेशका जिल्लामा बागलुडको कालिका भगवती मन्दिर, विश्वकै लामो मानिएको बाङ्गेचौर–पाङ्ग जोड्ने झोलुङ्गे पुल, पञ्चकोट, ढोरपाटन, गाजादह, कुँडुलेमा रहेको शालीग्राम सङ्ग्रहालय, मुस्ताडको मुक्तिनाथलगायतका क्षेत्र, कालिका मन्दिर, लामो पुल, म्याग्दीको पुनहिल, ग्रामीण बस्ती टिकटक तथा सामाजिक सञ्जालमा बढी रुचाइएको छ । टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा भिडियो तथा फोटो हेरेकै भरमा बागलुङमा घुम्न आउने पर्यटकमा वृद्धि हुँदै गएको पर्यटन व्यवसायी तथा बागलुङ होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो ।
“पहिला पर्यटक किताब पढेर तथा रेडियो सेनेको भरमा आउँथे, अहिले समय परिवर्तन भयो, भिडियो हेरेपछि मन परेका हुनाले पर्यटक बागलुङ आउने गर्छन्”, उहाँले भन्नुभयो, “बढी मात्रमा लामो पुल र पञ्चकोटले बढी पर्यटकलाई आकर्षित गरेको छ । ” उहाँले बढ्दो सामाजिक सञ्जालको प्रयोगले गर्दा एक स्थानका मानिसलाई अर्को स्थानको विषयमा जिज्ञासा जाग्ने तथा जानकारी लिनपाइने गरेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्