कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३०६ रनले पराजित भएको हो ।
कतारको वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, दोहामा भएको खेलमा टस हारेर पैले ब्याटिङको निम्तो पाएको भारत ‘ए’ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको हो ।
भारतको लागि कुमार कुशाग्रले १०२ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ११७ तथा तिलक वर्माले ११३ बलमा ६ चौका र ४ छक्काको मद्दतमा १०७ रनको शतकीय पारी खेले । त्यस्तै सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन बनाए भने वैभव सूर्यवंशीले २६ रन बनाए ।
भारत ४२-३ को अवस्थामा हुँदा कुशाग्र र तिलक मिलेर चौथो विकेटका लागि २०६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान तीन-तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिँदा पवन सर्राफको भागमा एक विकेट रह्यो । भारतले प्रस्य्त गरेको ३३३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको नेपाल ११ दशमलव ३ ओभरमा २६ रनमा समेटियो ।
नेपालका लागि कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालको लागि पवन सर्राफ र राशिद खानले समान ६-६ रन बनाए । नेपालका पाँच खेलाडी खाता नखोली आउट भए ।
भारतका लागि प्रिन्स यादवले पाँच विकेट लिए भने हर्षित रानाले चार विकेट लिँदा शाहबाज अहमदको भागमा एक विकेट रह्यो । नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको थियो । प्रतियोगितामा विभिन्न आठ टिमको सहभागिता रहेको छ । जसमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन् ।
त्यस्तै समूह ‘ए’मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङ्कङ छन् । अब नेपालले आइतबार यूएई र मङ्गलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।




प्रतिक्रिया राख्नुहोस्