मध्य पेरुमा शक्तिशाली भूकम्प, क्षतिको विवरण सङ्कलन हुँदै
मध्य पेरुमा शुक्रबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक विवरणअनुसार भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको पुष्टि भएको छैन । यद्यपि, केही पहाडी क्षेत्रमा पहिरो र चट्टान खसेको खबर प्राप्त भएको छ ।
पेरुको भूभौतिक संस्थानका अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान ७ः०९ बजे जुनिन सहरबाट ३० किलोमिटर उत्तरपश्चिममा केन्द्रविन्दु रहेको भूकम्प गएको हो । १२९ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पको कम्पन राजधानी लिमासहित हुआनुको र कालाओ क्षेत्रमा समेत महसुस गरिएको थियो ।
पेरुको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्र (सिओएएन) ले भूकम्पको धक्का मध्यमदेखि तीव्र रूपमा महसुस गरिएको जनाउँदै जोखिमयुक्त क्षेत्रको निगरानी जारी राखिएको बताएको छ ।
स्थानीय टेलिभिजन तथा सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा भूकम्पपछि लिमा र अन्य प्रभावित क्षेत्रका बासिन्दा घर तथा भवनबाट बाहिर निस्केर सडकमा भेला भएको देखिएको छ ।
पेरुको भूभौतिक संस्थानका अध्यक्ष हर्नान्डो तावेराले एएफपीसँग कुरा गर्दै जमिनको कम्पन निकै तीव्र भए पनि तत्काल मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको बताउनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रमा भने पहिरो गएको र चट्टान खसेको छ ।
पेरु जापानदेखि दक्षिणपूर्वी एसिया हुँदै प्रशान्त महासागरीय क्षेत्रमा फैलिएको उच्च भूकम्पीय गतिविधियुक्त क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ मा पर्दछ । भूकम्पविद्हरूका अनुसार पेरुमा प्रत्येक वर्ष कम्तीमा ४०० वटा भूकम्प जाने गरेका छन् । तीमध्ये करिब तीन चौथाइ भूकम्प यति कमजोर हुन्छन् कि मानिसले त्यसको कम्पनसमेत महसुस गर्न सक्दैनन् ।
यसअघि गत जुलाईमा जुनिन क्षेत्रमा ५.१ म्याग्निच्युडको भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त भूकम्पबाट ५२ घरसमेत पूर्ण रूपमा ध्वस्त भएका थिए ।(रासस/एएफपी)




प्रतिक्रिया राख्नुहोस्