राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधि जित्न लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनायो । लुम्बिनीको लागि दिलिप नाथले ३१ बलमा ३ छक्का प्रहार गर्दै ३९ रनमा अविजित रहे भने कप्तान रोहित पौडेलले ३१ बलमा २ चौकको मद्दतमा ३० रन जोडे ।
त्यस्तै अलि शेखले १२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोड्दा निरोशन डिकवालाले १७ बलमा १ चौका र २ छक्काको सहयोगमा २८ रडार्सी सर्टले २१ रन बनाए । सुदूरपश्चिमको लागि स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र थारिन्दु रत्नायकेको भागमा समान एक-एक विकेट रह्यो l
गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो । यसपटक लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने प्रयासमा छ ।
यस संस्करणमा यी दुई टोलीबीच यो तेस्रो प्रतिस्पर्धा हो । लिग चरणको पहिलो भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
फाइनलका लागि लुम्बिनीको टोलीमा कप्तान रोहितकुमार पौडेलसहित सन्दीप जोरा, आसिफ शेख, शेर मल्ल, अभिषेक गौतम, दिलीप नाथ र किशोर महतो छन् । विदेशी खेलाडीमा क्रिस्टियन ट्रम्पलम्यान, निरोशन डिकवेला, अली शेख र डार्सी सर्ट छन् ।
सुदूरपश्चिमको टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी, अनिल खरेल र दीपक बोहरा छन् । विदेशी खेलाडीमा साइफ जैब, जर्ज मन्सी, स्कट कुगेलेइन र थारिन्दु रत्नायके छन् ।




प्रतिक्रिया राख्नुहोस्