प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत उपाधि जित्न सफल सुदूरपश्चिम रोयल्सका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बधाई दिँदै आगामी दिनमा पनि सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
त्यस्तै उहाँले एनपिएलका आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गर्नुभएको छ । उहाँले एनपिएल छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्नेगरी रंगशाला निर्माण गरिने बताउनुभएको हो ।
उहाँले सुदूरपश्चिममा फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।
यस्तै, प्रधानमन्त्री शाहले विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान,पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गरिने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले उपाधि जितेको हो ।




प्रतिक्रिया राख्नुहोस्