क्रिकेटखेल

एसिया कप राइजिङ स्टार्स : कुशल भुर्तेलको अर्धशतकमा नेपालको जित, यूएई छ विकेटले पराजित

कुशल भुर्तेलको अर्धशतकीय पारीमा कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३९ दशमलव ५ ओभरमा १२१ रनमा समेटियो । यूएईको लागि मोहम्मद शाहदाद ४०, हर्प्रीत सिंहले ३२ र नुरुल्लाह अयोबील १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालको लागि सन्दीप लामिछाने र कुशन भुर्तेलले समान तीन-तीन विकेट लिए भने नन्दन यादव, रशिद खान र ललित्नारायण राजवंशीको भागमा समान एक-एक विकेट रह्यो । यूएईले प्रस्तुत गरेको १२२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले २२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको लागि कुशल भुर्तेलले ५६ बलमा छ चौका र १ छक्का प्रहार गर्दै ५७ रन्को अर्धशतकीय पारी खेले भने मायाँ यादवले २८ बलमा ४ चौका र १ छक्काको मद्दतमा २७ रन बनाए । त्यस्तै बसिर अहमद १८ र पवन सर्राफ ९ रनमा अविजित रहे । यूएईका लागि मुहम्मद मोहसिनले दुई विकेट लिए भने उदीस सुरी र अंश टन्डनको भागमा समान एक-एक विकेट रह्यो ।

जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो भने यूएईको लगातार दोस्रो हार । नेपालले पहिलो खेलमा भारत ‘ए’ र यूएईले पाकिस्तान ‘ए’ सँग हार व्यहोरेको थियो ।

नेपाल सानदार पुनरागमन गर्दै यूएईलाई हराएर पहिलो जित निकालेको छ । नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको हो । प्रतियोगितामा विभिन्न आठ टिमको सहभागिता रहेको छ । जसमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन् ।

त्यस्तै समूह ‘ए’मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङ्कङ छन् । समूह ‘बी’मा रहेको नेपालले मङ्गलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.