विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुन:निर्माण गर्नुपर्ने
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुन:निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको आइतबार अवलोकनपछि उहाँले जोखिमको प्राविधिक मूल्याङ्कनका आधारमा सुरक्षित स्थान पहिचान गरी सम्भव भएका ठाउँमा जोखिम न्यूनीकरणका उपाय अपनाएर बस्ती पुन:निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रभावित बासिन्दाले वर्षौँदेखि बसोबास गर्दै आएको पुख्र्यौली थातथलो छाड्न नचाहेको र बेत्रावती, त्रिशूली तथा देवीघाटका बासिन्दाले जोखिम न्यूनीकरण गरेर सोही क्षेत्रमा बस्ती पुन:निर्माण गर्न माग गरेको उल्लेख गर्दै उहाँले स्थानीयको भावना र सुरक्षालाई ध्यान दिनुपर्ने बताउनुभयो ।
सभापति थापाले पुन:निर्माणलाई निजी आवास निर्माणमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको समग्र पुन:स्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले सडक, पुल, विद्युत् आयोजना तथा अन्य सार्वजनिक संरचनाको पुन:निर्माणसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र रोजगारीका अवसरलाई पनि पुन:स्थापनाको योजनामा समेट्नुपर्ने बताउनुभयो ।
सरकारले पुन:निर्माणका योजना तयार गर्दा प्रभावित बासिन्दासँग पर्याप्त छलफल गरी उनीहरूका सुझाव समेट्नुपर्ने उहाँको भनाइ थियो । पुन:निर्माण र पुन:स्थापनाका कार्यक्रमलाई एकीकृत प्याकेजका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले यसका लागि आफ्नो पार्टीले सरकारलाई आवश्यक सुझाव र सहयोग गर्ने बताउनुभयो ।
उहाँले रसुवाको उत्तरगया गाउँपालिकाका विभिन्न बस्ती, रसुवा–नुवाकोटको बेत्रावती, त्रिशूली, ढुङ्गे, देवीघाट हुँदै धादिङको गल्छीसम्मको प्रभावित क्षेत्रको अवलोकन गर्नुभयो ।
सो क्रममा नदीको उच्च बहावबाट क्षति पुगेका नदी किनार तथा आसपासका बस्तीको पुन:निर्माण गर्दा भविष्यमा हुन सक्ने जोखिमको प्राविधिक अध्ययनलाई आधार बनाउनुपर्ने उहाँले बताउनुभयो ।
अवलोकनका क्रममा सभापति थापाले स्थानीय तहका जनप्रतिनिधिसँग विपद्पछिको अवस्था, राहत तथा पुन:स्थापनाका काम र पुनर्निर्माणका प्राथमिकताबारे जानकारी लिनुभयो । उहाँले प्रभावित बासिन्दासँग छलफल गर्नुका साथै उनीहरू अस्थायी रूपमा बसोबास गरिरहेका आवास केन्द्रको पनि अवलोकन गर्नुभयो ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती, सडक, पुल, विद्युत् आयोजना, निजी आवास तथा व्यावसायिक संरचनामा ठूलो क्षति पुर्याएको थियो ।
बाढी प्रभावितको स्थायी पुन:स्थापना, सुरक्षित आवास निर्माण र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण अहिलेको प्रमुख आवश्यकता रहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सभापति थापालाई जानकारी गराउनुभयो ।(रासस)




प्रतिक्रिया राख्नुहोस्