बिशेषराजनीति

सार्वजनिक लेखा समितिद्वारा विद्युत् प्राधिकरण र सुनकोशी–मरिन आयोजनाका कागजात माग

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तार र राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया रद्द गरिएको विषयमा सम्बन्धित कागजात सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।

प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी उजुरी तथा सुनकोशी–मरिन आयोजनाको नयाँ बोलपत्र प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गरिएको विषयमा परेको निवेदनमाथि समितिको आजको बैठकमा प्रारम्भिक छलफल भएको थियो ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशील आचार्यलगायतसँग छलफल गरेपछि समितिले दुवै विषयसँग सम्बन्धित कागजात माग गर्ने निर्णय गरेको हो ।

समिति सभापति भरतबहादुर खड्काले लोकतन्त्रका मूल्य, मान्यता, विधि, प्रणाली, पद्धति र प्रक्रियाअनुसार काम भए नभएको अध्ययन गर्न आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिनुभयो । कागजात प्राप्त भएपछि थप अध्ययन गरी समितिको कार्यक्षेत्रभित्र रहेर विषयको निरूपण गरिने उहाँले बताउनुभयो ।

सुनकोशी–मरिन आयोजनाको नयाँ ठेक्का रद्द गर्ने निर्णय, पुरानो ठेक्का तोडिएको पृष्ठभूमि, राज्य तथा नागरिकलाई हुन सक्ने आर्थिक क्षति, नियमावलीको भूतप्रभावी प्रयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हस्तक्षेप भए नभएको विषयमा समितिमा छलफल भएको थियो ।

आयोजनाले २०८३ जेठ २५ गते सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।

बोलपत्र प्रक्रियामा सहभागी कम्पनीमध्ये तीन कम्पनी प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका थिए। तिनको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कात्तिक दोस्रो साता बोलपत्र प्रक्रिया रद्द गरिएको थियो।

सभापति खड्काले समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अदालत नभएको उल्लेख गर्दै प्राप्त कागजात अध्ययन गरी आफ्नो कार्यक्षेत्र र अधिकारभित्र रहेर काम गर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.