क्यालिफोर्नियामा शक्तिशाली समुद्री छाल र उच्च ज्वारभाटा, तटीय बस्ती डुबानमा
अमेरिकाको क्यालिफोर्निया राज्यको प्रशान्त महासागर किनारमा शक्तिशाली समुद्री छाल र वर्षकै उच्च ज्वारभाटाका कारण तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ।
उच्च ज्वारभाटाका बेला बुधबार (नोभेम्बर २५, २०२६) अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्कोको ओसन बीचमा चेतावनीमूलक सूचना राखिएको बोर्डमा बसेको एक समुद्री चरा (गुल)। समुद्री सतह बढेर छाल किनारसम्म आइपुगेपछि सर्वसाधारणलाई सचेत गराउन उक्त सूचना राखिएको हो।
समुद्रमा आएको असामान्य उचाइको छालले उत्तरी क्यालिफोर्नियाको प्यासिफिका सहरस्थित ऐतिहासिक समुद्री पुलको एक हिस्सा भत्काएर समुद्रमा खसालेको छ भने तटीय बस्तीका घर तथा सडकमा समुद्री पानी पसेको छ।
समुद्रमा आएको शक्तिशाली छालले किनारका संरचनामा निरन्तर प्रहार गरिरहेको थियो। समुद्री सतहको असामान्य वृद्धि र शक्तिशाली छालका कारण क्यालिफोर्नियाका विभिन्न तटीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ।
एसोसिएटेड प्रेस (एपी) का अनुसार प्यासिफिका सहरमा समुद्री छालको प्रहारले करिब एक हजार १४० फिट (३५० मिटर) लामो एल आकारको प्यासिफिका म्युनिसिपल पियरको एक हिस्सा भत्किएको हो।
विशाल छालले पुलको संरचनामा प्रहार गरेपछि त्यसका ठाडा आधारहरू कमजोर भई एउटा खण्ड समुद्रमा खसेको थियो। संरचनामा चिरा देखिएपछि उक्त पुललाई यसअघि नै गर्मीयामदेखि बन्द गरिएको थियो।

सान फ्रान्सिस्कोको दक्षिणमा पर्ने प्यासिफिकामा समुद्रको पानी बस्तीभित्र पस्दा केही सडकमा पानी जमेको छ भने समुद्र किनारका घरहरू डुबानमा परेका छन्। समुद्री पर्खाल नाघेर आएको पानी नियन्त्रण गर्न जडान गरिएका पम्पले समेत पानीको बहाव थेग्न कठिन भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
सान माटेओ काउन्टीका अधिकारी रे म्युलरका अनुसार समुद्री पानीको बहाव अपेक्षाभन्दा बढी हुँदा पानी निकाल्ने पम्पहरूले प्रभावकारी रूपमा काम गर्न सकेका छैनन्। तटीय क्षेत्रका संरचना थप मजबुत बनाउन र पानी निकास प्रणाली सुधार गर्न अतिरिक्त स्रोतसाधन आवश्यक पर्ने उनको भनाइ छ।
क्यालिफोर्नियाका विभिन्न तटीय क्षेत्रमा बाढीको जोखिम
प्यासिफिकामात्र नभई क्यालिफोर्नियाका अन्य तटीय क्षेत्रमा पनि उच्च ज्वारभाटा र शक्तिशाली छालका कारण जोखिम बढेको छ।
सान फ्रान्सिस्कोको उत्तरतर्फ पर्ने मारिन काउन्टीको स्टिन्सन बीचमा समुद्री किनारका घरहरूमा पानी र समुद्री छालसँगै बगेर आउने फोहोर तथा ढुंगामाटो पस्न सक्ने जोखिम देखिएपछि स्थानीय प्रशासनले बासिन्दाका लागि सुरक्षित स्थानतर्फ जान चेतावनी जारी गरेको थियो। पछि उक्त चेतावनी हटाइए पनि समुद्री किनारबाट टाढै रहन आग्रह गरिएको छ।
त्यस्तै, मिल भ्याली, लार्कस्पर, साउसालिटो र कोर्टे माडेरालगायतका तटीय समुदायका केही घर तथा सडकमा समुद्री पानी पसेको छ। क्यालिफोर्नियाको उत्तरी भागमा पर्ने हम्बोल्ट काउन्टीमा समेत बस्तीका अधिकांश भवन डुबानमा परेपछि स्थानीय अधिकारीहरूले केही क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न आदेश दिएका थिए।
राष्ट्रिय मौसम सेवाले प्रशान्त महासागरको तटीय क्षेत्र तथा सान फ्रान्सिस्को र सान पाब्लो खाडी आसपासका क्षेत्रमा तटीय बाढीको चेतावनी जारी गरेको थियो।
मौसम सेवाले बुधबार समुद्रमा २० देखि ३० फिट (करिब ६ देखि ९ मिटर) सम्म अग्ला छाल उठ्न सक्ने अनुमान गरेको थियो। यस्ता छालले पौडी खेलिरहेका व्यक्तिलाई समुद्रमा बगाउन तथा समुद्री किनारका संरचनामा क्षति पुर्याउन सक्ने चेतावनी दिइएको थियो।
क्यालिफोर्नियाको मध्य तटीय क्षेत्रमा समेत समुद्री छालको प्रभाव देखिएको छ। सान्ता क्रुज काउन्टीको पाजारो ड्युन्स क्षेत्रमा पानीको सतह बढेपछि स्थानीय प्रशासनले सुरक्षित स्थानमा बस्न आग्रह गरेको थियो। मोन्टेरी काउन्टीमा पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर विभिन्न समुद्री तट बन्द गरिएको थियो।

किन असामान्य रूपमा बढ्दै छ समुद्री सतह ?
यसपटकको समुद्री जोखिम बढ्नुमा वर्षकै सबैभन्दा उच्च ज्वारभाटा अर्थात् ‘किङ टाइड’ र शक्तिशाली समुद्री छालको संयुक्त प्रभाव रहेको एपीले जनाएको छ।
किङ टाइड भन्नाले वर्षको निश्चित समयमा देखिने असाधारण रूपमा उच्च ज्वारभाटालाई बुझिन्छ। चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण बल एकै दिशामा प्रभावकारी हुँदा समुद्रको पानी सामान्य अवस्थाभन्दा माथि उठ्छ। विशेषगरी सूर्य, चन्द्रमा र पृथ्वीको अवस्थिति अनुकूल हुँदा समुद्री सतहमा यस्तो वृद्धि देखिन्छ।
यस वर्ष भने ‘सुपर एल निनो’ को प्रभावले समुद्री पानी थप न्यानो हुँदा त्यसको आयतन बढेको र उच्च ज्वारभाटाको प्रभाव अझ तीव्र भएको एपीले उल्लेख गरेको छ। समुद्रको तापक्रम वृद्धि र पश्चिम दिशाबाट आउने शक्तिशाली छालले तटीय क्षेत्रमा थप जोखिम सिर्जना गरेको छ।
क्यालिफोर्नियाका तटीय क्षेत्रमा पछिल्ला दिनदेखि नै समुद्री पानीको सतह बढ्ने र छालले पर्खाल नाघ्ने जोखिमबारे सतर्कता अपनाउन आग्रह गरिएको थियो।
स्थानीय बासिन्दाले घर तथा व्यवसाय जोगाउन बालुवाले भरिएका बोरा राखेर अस्थायी पर्खाल बनाउने, पानी निकाल्ने पम्प जडान गर्ने र समुद्री पानी पस्ने सम्भावित स्थानमा अवरोध खडा गर्ने काम गरेका थिए।
दक्षिणी क्यालिफोर्नियामा पनि उच्च ज्वारभाटाको नयाँ रेकर्ड
उत्तरी क्यालिफोर्नियामा समुद्री छालले भौतिक संरचनामा क्षति पुर्याइरहँदा दक्षिणी क्यालिफोर्नियाका केही स्थानमा पनि उच्च ज्वारभाटाले यसअघिका रेकर्ड तोडेका छन्।
लस एन्जलस टाइम्सका अनुसार सान डिएगोको ला जोला क्षेत्रमा समुद्री सतह औसत न्यूनतम ज्वारको तुलनामा ८.११ फिट माथि पुगेको थियो। यसअघि सन् २०२६ अक्टोबर २७ मा कायम ७.९८ फिटको रेकर्ड यसले तोडेको हो।
त्यस्तै, सान्ता बार्बरामा समुद्री सतह ८.२१ फिट पुगेको थियो। यसअघि त्यहाँ ८.०४ फिटको रेकर्ड थियो। लस एन्जलसको सान पेड्रो क्षेत्रमा भने समुद्री सतह ८.१९ फिट पुगेपछि यसअघिको रेकर्ड बराबर भएको थियो।

अरेन्ज काउन्टीको सनसेट बीच क्षेत्रमा पनि समुद्री पानी घरहरूमा पसेको थियो। तर स्थानीय बासिन्दाले पहिलेको अनुभवका आधारमा बालुवाका बोरा राखेर पर्खाल बनाउने र पानी निकाल्ने व्यवस्था गरेकाले क्षति केही हदसम्म कम भएको अधिकारीहरूले बताएका छन्।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले प्यासिफिकामा भएको क्षतिलाई दुःखद भन्दै यसलाई भविष्यमा देखिन सक्ने जलवायुजन्य जोखिमको संकेतका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यस्ता घटनालाई तत्कालीन व्यवस्थापनबाट मात्र समाधान गर्न नसकिने भएकाले दीर्घकालीन तटीय सुरक्षा र पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक छ।
मौसम अधिकारीहरूले उच्च ज्वारभाटा र समुद्री छालको जोखिमलाई ध्यानमा राख्दै समुद्री तट, पुल, चट्टान तथा पानीको बहाव तीव्र हुने क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन्।
उच्च ज्वारभाटाका कारण समुद्रको पानी सामान्यभन्दा धेरै माथिसम्म आइपुग्ने हुँदा समुद्री किनारमा रहेका मानिसको सुरक्षित रूपमा फर्कने बाटोसमेत बन्द हुन सक्ने चेतावनी दिइएको छ।
आगामी क्रिसमस र मार्टिन लुथर किङ जुनियर दिवस आसपास पनि असाधारण रूपमा उच्च ज्वारभाटा आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई पूर्वतयारी गर्न आग्रह गरिएको छ।
– समाचार तथा तस्वीर एपी




प्रतिक्रिया राख्नुहोस्