पद र पार्टीमध्ये एउटा रोज्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई गगनको चेतावनी
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र अनुशासन नमान्ने छुट कसैलाई नभएको भन्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पद र पार्टीमध्ये एउटा रोज्न चेतावनी दिनुभएको छ ।
पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टीकै नेतृत्व र संस्थागत निर्णय नमान्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै सभापति थापाले अनुशासन उल्लङ्घन गर्नेमाथि विधानअनुसार कारबाही हुने चेतावनी दिनुभएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष वा वडाध्यक्षले पार्टीमा आबद्ध नभएको, अनुशासन नमान्ने, पार्टी कार्यालय नजाने वा सभापतिलाई नचिन्ने अभिव्यक्ति दिन नमिल्ने बताउनुभयो ।
‘कांग्रेसबाट निर्वाचित भएर वडाध्यक्ष वा पालिका अध्यक्ष पनि भइराख्छु तर कांग्रेस मान्दिनँ र चिन्दिनँ भन्न पाइँदैन। पार्टीको अनुशासन उल्लङ्घन गर्नेमाथि विधानअनुसार पार्टी अगाडि बढ्छ, यसमा कुनै अलमल छैन,’ उहाँले भन्नुभयो ।
थापाको यो अभिव्यक्ति कांग्रेसभित्र आधिकारिकता र नेतृत्वको विवाद चर्किरहेका बेला आएको हो। पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिर २२ देखि पार्टीको १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
निर्वाचन आयोगले भने गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गरिसकेको छ। एउटै पार्टीका नाममा दुई समूहले अलगअलग महाधिवेशनको तयारी गरेपछि कांग्रेसको आन्तरिक विवाद विभाजनको जोखिमसम्म पुगेको छ।
देउवा समूहले आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाइरहँदा पार्टीबाट निर्वाचित केही जनप्रतिनिधि तथा राष्ट्रियसभा सदस्य पनि उक्त समूहमा सहभागी हुने संकेत देखिएको छ।
यसअघि नै थापाले देउवा समूहको गतिविधिमा सहभागी हुने निर्वाचित जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिनुपर्ने वा पार्टीको अनुशासन उल्लङ्घन गरेबापत कारबाही भोग्नुपर्ने चेतावनी दिइसक्नुभएको छ ।
सभापति थापाको पछिल्लो अभिव्यक्तिले पार्टीको आधिकारिक नेतृत्व र अनुशासनको प्रश्नमा कुनै सम्झौता नगर्ने सन्देश दिएको छ। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गरे पनि देउवा समूहले त्यसलाई स्वीकार गरेको छैन।
आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा समेत पुगेको अवस्थामा देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी अघि बढाएको हो। यसले पार्टीको नेतृत्व, संगठन र निर्वाचित प्रतिनिधिको राजनीतिक हैसियतसमेत अन्योलमा पारेको छ।
थापाले पार्टीमा अन्य दलबाट प्रवेश गर्ने नेता–कार्यकर्ताको व्यवस्थापनका लागि उपसभापति मधु आचार्यको संयोजकत्वमा समिति गठन गरिएको जानकारी पनि दिनुभएको छ । त्यस्तै पार्टीका नेता तथा कार्यकर्तालाई जोड्ने काम उपसभापति चन्द्र भण्डारीको समन्वयमा सुरु गरिएको उहाँले बताउनुभयो ।
एकातिर पार्टीमा नयाँ नेता–कार्यकर्तालाई जोड्ने र संगठन विस्तार गर्ने प्रयास भइरहेको छ भने अर्कोतिर पूर्वसभापति देउवा समूहसँगको विवादले कांग्रेसको संस्थागत एकतामाथि प्रश्न उठाएको छ।
निर्वाचन आयोगको अद्यावधिक निर्णय, अदालतमा विचाराधीन आधिकारिकताको विवाद र मंसिर २२ देखि देउवा समूहले गर्ने तयारी गरेको समानान्तर महाधिवेशनले कांग्रेसको आगामी दिशा निर्धारण गर्ने देखिन्छ।
थापा नेतृत्वले पार्टीको विधान र अनुशासनलाई आधार बनाएर निर्वाचित प्रतिनिधिमाथि समेत कारबाहीको चेतावनी दिइरहँदा देउवा समूह आफ्नो महाधिवेशनबाट पछि हट्ने संकेत देखिएको छैन।
दुवै पक्षबीच सहमति नबने कांग्रेस औपचारिक विभाजनतर्फ अघि बढ्ने जोखिम छ। अब आधिकारिकताको विवादले अदालतबाट कस्तो निकास पाउँछ र पार्टीभित्रका नेता–कार्यकर्ताले कुन बाटो रोज्छन् भन्ने विषयले कांग्रेसको भविष्य तय गर्नेछ।




प्रतिक्रिया राख्नुहोस्