‘जनादेश प्राप्त सरकार असफल हुने छुट छैन’ : शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ ।
गृहनगर मेचीनगर नगरपालिका–९ मा नवनिर्मित खानेपानी परियोजनाको आज उद्घाटन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
उपसभापति शर्माले भन्नुभयो, ““नागरिकमा धेरै निराशा फैलिएको छ, आवेग, आक्रोश र निराशाले देशलाई दुःखद् अवस्थामा पुर्यायो । जनादेश प्राप्त प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वमा रहेको सरकार सफल बन्नुपर्छ ।”
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै वरिष्ठ उपसभापति शर्माले जनादेश पाएको सरकारलाई सबै दलले सघाउनुपर्ने बताउनुभयो ।
जेनजी विद्रोह हुनुमा तत्कालीन सरकारले गरेको अत्यधिक बल प्रयोग पनि एउटा कारण रहेको उहाँको विश्लेषण छ । साथै, पुराना दलहरूले सुशासन कायम गर्न नसक्दा र नेतृत्वमा नयाँ अनुहार ल्याउन नसक्दा विद्रोहले मलजल पाएको वरिष्ठ उपसभापति शर्माले दाबी गर्नुभयो ।
पाँचै निर्वाचन क्षेत्रमा कार्यकर्तासँग भेटघाट
वरिष्ठ उपसभापति शर्माले गृह जिल्लाका नेता तथा कार्यकर्तासँग तीन दिन अलगअलग कार्यक्रममा भेटघाट र छलफल गर्नुहुने भएको छ ।
उहाँले आज दिउँसो कचनकबल गाउँपालिका–७ स्थित चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठानमा झापा निर्वाचन क्षेत्र नं ३ का कार्यकर्तासँग भेटघाट गर्नुभएको छ ।
मङ्सिर १४ गते दमकस्थित पार्टीको क्षेत्रीय कार्यालयमा झापा–५ का र सोही दिन कनकाईस्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानमा झापा–४ का कार्यकर्तासँग छलफल गर्नुहुने झापा क्षेत्र नं १ का क्षेत्रीय सभापति इन्द्र बूढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार मङ्सिर १५ गते धुलाबारीको अतिथि सदनमा झापा–१ र सोही दिन विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा झापा–२ का नेता तथा कार्यकर्तासँग वरिष्ठ उपसभापति शर्माको भेटघाट कार्यक्रम तय भएको छ । (रासस)




प्रतिक्रिया राख्नुहोस्