राजनीति

समिति बन्दैमा ठिक हुन्छ भन्ने अवस्था छैन : गगन

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले एनसेलको शेयर खरीद विक्रीको छानबिन गर्न समिति बन्दैमा ठीक हुने अवस्था नरहेको भन्दै सशक्त खबरदारीको आवश्यकता औंल्याउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राख्दै थापाले एनसेलको खरिदबिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै यो प्रकरणमा ठूलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिने उल्लेख गर्नुभएको छ ।

थापाले तत्कालै यो प्रकरणमा विभिन्न तहबाट प्रश्न उठेपछि सरकारले समिति बनाएको छ भने सार्वजनिक लेखा समितिले “समग्र प्रक्रियामा अनुसन्धान गर्नुपर्ने देखिएकाले त्यो पूरा नहुन्जेल शेयर बिक्रीको प्रक्रियालाई रोक्न निर्देशन” दिएको स्मरण गराउँदै गम्भीर बन्न सुझाव दिनुभएको छ।

महामन्त्री थापाले समिति बनेको, निर्देशन दिइएको भए पनि सबै ठिक हुन्छ भन्ने अवस्था नरहेको र कानुनको छिद्र दुरुपयोग गरेर यस्तो गरेको प्रस्ट देखिएको स्पष्टट गर्नुभएको छ र

उहाँले यसमा बदनियत रहेको दावी गर्दै पहिला पनि पटकपटक यस्तो गरेका दृष्टान्त रहेको र राजनीतिक र प्रशासनिक नेतृत्वमध्ये कसैको साथ र आश्वासन नपाइकन यत्रो अनियमितताको हिम्मत नआउने समेत स्पष्ट गर्नुभएको छ ।

महामन्त्री थापाले जसको आडमा यो भएको छ र जो प्रत्यक्ष परोक्ष संलग्न छन् अहिले हुने छानबिन प्रभावित गर्न उनीहरू लाग्ने लाग्ने भएकाले उनीहरूलाई असफल बनाउन यो प्रकरणमा जो जहाँ बसेर प्रतिरोध गरिरहेका छौ, त्यसलाई एकीकृत बनाएर कोहीले सरकार भित्रैबाट कोहीले संसदमा, कोहीले सडकबाट प्रतिरोध गर्न आव्हान गर्नुभएको छ ।

एनसेलको बदमासी छनबिनन गरी दोषीलाई कारबाही गर्न सबै सचेत हुन तीन बुँदे आग्रह गर्दै यो प्रकरण पनि सुन काण्ड, भुटानी शणार्थी काण्ड जस्तो हुन नदिन सशक्त खबरदारीको आव्हान गर्नुभएको छ ।

थापाको आग्रह छ,

१) समिति औपचारिकतामा मात्र सीमित नहोस् । छानबिन समिति बनाउने र सामसुम पार्न नदिन हर क्षण सचेत र चनाखो हुनु जरुरी छ। हरेक पटक अनेकन भ्रष्टाचार र आर्थिक अनियमितताका काण्ड सार्वजनिक हुन्छन्, दबाब हुन्छ, छानबिनको प्रयास हुन्छ अनि विभिन्न दृश्य अदृश्य साँठगाँठमा प्रकरणलाई सामसुम पार्ने प्रयास हुन्छ। यस्तो हुन नदिन निरन्तर खबरदारी गरौँ।

२) यो प्रकरणमा जोसुकै, जुनसुकै तह, ओहदा, र पार्टीको जस्तोसुकै प्रभावशाली व्यक्ति संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ। नेता-नाता, सरकारी-गैरसरकारी कसैले छुट पाउनु हुँदैन । साथै यो सँगै कुनै व्यक्ति,संस्था वा समूहको स्वार्थ अनुकूल नीतिगत भ्रष्टाचारका लागि कहीँ कतैबाट ठाउँ बनाउन खोजिएको छ भने त्यसलाई रोक्नुपर्छ। अझै सशक्त ढङ्गबाट प्रतिवाद जरुरी छ, नागरिक स्तरबाट, सञ्चार माध्यमबाट, दलहरूभित्रबाट, सरकार भित्रैबाट र सांसदबाट। अतः सबै तिरबाट अझै सङ्गठित र सामूहिक रूपमा प्रतिवाद गरौँ।

३) यो प्रकरणसँग जोडिएर जसरी नेपालमा हुने प्रत्यक्ष वैदेशिक लगानी तथा अन्य लगानीको वातावरणलाई प्रभावित पार्ने र आरोप लगाउने विषय उठेका छन्। ती विषय गम्भीर छन्। यस सन्दर्भमा नेपाल सरकारले प्रस्ट गर्नुपर्छ,गराउनुपर्छ।

पुनः आग्रह छ-समिति मात्र बनाएर प्रकरण फासफुस पार्ने र मिलेमतोमा टुङ्गाउने प्रयास कहीँ कतैबाट नहोस्।सुन काण्डदेखि भुटानी शरणार्थी काण्डसम्म पर्दाभित्र दलका शीर्षहरूबिच जे जस्ता मिलेमतोका प्रयास भए यो प्रकरणमा त्यस्तो हुन नदिन सरकारभित्र, दलहरूभित्र र बाहिर अझै सशक्त ढङ्गले खबरदारी गरौँ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.