क्रिकेटखेल

सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले जित्यो एनपिएल सिजन-२ को उपाधि

सुदूरपश्चिम पुन: उपविजेतामा सिमित

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९ दशमलव एक ओभरमा ८५ रनमा समेटियो । सुदूरपश्चिमको लागि इशान पाण्डेले ३३ रन बनाए भने कप्तान दीपेन्द्र सिंह ऐरीले १३ रन जोडे ।

त्यस्तै हरमित सिंह र स्कट कुगेलिइन समान १०-१० रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीको लागि कप्तान रोहित पौडेलले ह्याट्रिकसहित तीन विकेट लिए भने शेर मल्ल र रूबेन ट्रम्पलम्यानले पनि समान तीन-तीन विकेट लिँदा तिलक भण्डारीको भागमा एक विकेट रह्यो ।

८६ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको लुम्बिनीले ९ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको लागि दिनेश अधिकारीले १३ बलमा एक चौका र पाँच छक्काको मद्दतमा ४२ रन बनाए भने कप्तान रोहित पौडेलले १६ रन जोडे । यस्तै डार्सी शर्टले १२ रन जोड्दा निरोशन डिकवेला १० रनमा अविजित रहे । सुदूरपश्चिमको लागि हेमन्त धामीले दुई विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहराको भागमा समान एक-एक विकेट रह्यो ।

जितसंगै लुम्बिनीले उपाधि सहित १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सुदूरपश्चिमले ५१ लाख, तेस्रो हुने विराटनगर किंग्सले २५ लाख र चौथो हुने काठमान्डु गोर्खाजले १५ लाख प्राप्त गरेको छ ।

गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक ट्रफी भित्र्याएको हो । त्यस्तै गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक पनि उपाधि रक्षा गर्ने असफल रह्यो । दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली मानिए पनि फाइनलमा लुम्बिनी सामू निरिह देखिएको थियो ।

लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.