जन सरोकार

अनिताको प्रश्न- कुन शहर होला जहाँ बिना पैसा उपचार गराएर निको हुने ?

तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी ३४ वर्षीया अनिता सुवेदी तीन वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि पलपल मरेर बाँचिरहनुभएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराकी सुवेदीलाई मिर्गौला फेरर निको हुने मन छ । आर्थिक अभावले हप्ताको एक पटक डायलासिस गराउन पनि समस्या छ । उहाँ भन्नुहुन्छ, “कुन शहर होला र जहाँ बिना पैसा उपचार गराएर निको हुने ?”

मिर्गौलाको समस्याका कारण उहाँकोे अनुहार सुन्निएको छ । निको हुनलाई सुई खोप्दाखोप्दा हातमा झनै घाउ बनेको छ । तैपनि निको हुने आश मरेको छैन । तर आर्थिक अभावको मार बेस्सरी खेप्नुभएको छ उहाँले ।

उहाँको दमौली अस्पतालमा रहेको शत्रुघन मन्जु डायलासिस केन्द्रमा हप्ताको एक पटक डायलासिस गरिन्छ । नेपाल सरकारले गरेको व्यवस्थाअनुसार निःशुल्क डायलासिस हुन्छ । तर डायलासिस गरेपछि फेर्नुपर्ने रगत, औषधि र यातायात खर्च कसरी जुटाउने भन्ने चिन्ताले कहिल्यै छाड्दैन उहाँलाई । हप्तामा रु पाँच हजार हाराहारीमा खर्च हुने गरेको उहाँले बताउनुभयो ।

मिर्गौला फेल भएको थाहा पाएदेखि वर्षदिन जेनतेन आफ्नै खर्चमा उपचार गराएको उहाँले बताउनुभयो । दुई वर्षदेखि भने निरन्तर दाताले दिएको सहयोगको भरमा अनिताको उपचार भइरहेको छ । कोही जन्मदिनमा मनाउने खर्च अनिताको उपचारलाई दिन्छन् । दयालाग्दो अवस्था देखेर विदेशबाट पनि उहाँलाई सहयोग आइरहन्छ । “कहिले घरमै आएर सहयोग दिनुहुन्छ । कहिले हामी घरदैलोमा पुगेर सहयोग उठाउँदै हिँड्छौं,” उहाँले भन्नुभयो ।

अनितासँगै ६० वर्ष नाघ्नुभएकी आमा जानुका पनि घरदैलो चाहार्दै सहयोग उठाउँदै हिँड्नुहुन्छ । “उपचार गराउनलाई आफूसँग सुक्को रकम छैन । सहयोग नउठाए छोरीको उपचार हुँदैन,” उहाँले भन्नुभयो, “श्वास रहुञ्जेल आश लाग्दो रैछ क्यारे । मागेरै भए पनि उपचार गराउन पाइयो भने त दुई चार दिन बढी छोरी बाँच्ली ।’’

अनिताका दाजु ३८ वर्षीय अर्जुन विस्तारामै थला पर्नुभएको छ । सानै छँदा घरको छतबाट खस्नुभएका उहाँको उपचार हुन पाएको छैन । तीन वर्ष अगाडिसम्म घिस्रिएर दिसापिसाब गर्नलाई शौचालयसम्म जाने उहाँ स्याहार पाउन छाडेपछि थला पर्नुभएको छ । हर प्रहर विस्तारामा गुजुल्टिएर बस्नुहुन्छ

छोरोको पनि आर्थिक अभावले उपचार गराउन कठिन भएको आमा जानुकाले बताउनुभयो । उहाँले भन्नुभयो,“एउटीलाई त उपचार गराउन सकिएको छैन् । छोरोलाई कसरी लैजाम अस्पताल ।” अनिताको कान्छा भाइले घरखर्च चलाउन तरकारी बेच्ने गर्दछन् । बहिनीलाई भने परिवारको रेखदेखमै ठीक्क छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.